बहुजन समाज पार्टीका नेता आर्मस्ट्रङको हत्या आरोपमा आठ जना पक्राउ

काठमाडौँ, २२ असारः तल्लो जातका भारतीयको अधिकारको पक्षमा वकालत गर्ने एक राजनीतिज्ञको हत्या गरेको आरोपमा भारतमा शनिबार आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बहुजन समाज पार्टी (बसपा) का तामिलनाडु प्रदेश प्रमुख के आर्मस्ट्रङको शुक्रबार राति दक्षिणी शहर चेन्नईस्थित उहाँको घर नजिकै धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।इन्डियन एक्सप्रेस पत्रिकाका अनुसार तामिलनाडु राज्यको राजधानी चेन्नईस्थित आर्मस्ट्रङको घर नजिकै साथी र समर्थकसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका छ जनाको एक समूहले आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूलाई कसैले हस्तक्षेप गर्नुअघि नै ती व्यक्ति भागेको बताइएको छ ।

आर्मस्ट्रङका धेरै समर्थकहरू उहाँको हत्याको विरोध गर्न र न्यायको माग गर्दै शनिबार साँझपख सडकमा ओर्लिएका थिए ।चेन्नईका वरिष्ठ प्रहरी अधिकारी असरा गर्गका अनुसार प्रारम्भिक अनुसन्धानपछि आठ जना संदिग्धसँग सोधपुछ भइरहेको छ ।आर्मस्ट्रङको बहुजन समाज पार्टी (बसपा) का राष्ट्रिय प्रमुख मायावतीले उक्त आक्रमण ‘अत्यन्त निन्दनीय’ भएको बताउनुभएको छ । “सरकारले दोषीलाई कडा कानुनी सजाय दिनुपर्छ,” उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । 

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले आर्मस्ट्रङको हत्यालाई दुःखद् र निन्दनीय घटना भन्दै प्रहरीलाई अनुसन्धान छिटो टुङ्ग्याउन आग्रह गर्नुभएको छ ।