हेटौँडा काठमाडौँ जोड्ने छिटो दुरीको २ सडक बन्द

हेटौँडा काठमाडौँ जोड्ने छिटो दुरीको २ सडक बन्द भएका छन् । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने मातातीर्थ, चखेल देउराली सडक र कान्ति लोकपथ बन्द भएको हो ।

शुक्रबार रातिदेखि परेको वर्षाका कारण शनिबार बिहान ७ बजेको समयमा मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल र देउराली जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरो हटाएर बाटो सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त स्थानमा प्रहरी चौकी फखेलबाट प्रहरी टोली खटिएको छ । 

त्यसै वर्षाका कारण शनिबार बिहान २ः१० बजेको समयमा कान्ति लोकपथ अन्तर्गतको प्रतापडाँडा र ललितपुर क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । कान्ति लोकपथ सडक खण्डमा वर्षाको कारण मकवानपुरको भिमफेदी–८ प्रतापडाँडा र ललितपुर क्षेत्रमा सडक माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पहिरोका कारण सो सडक पूर्ण रूपमा अवरोध भएको र इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटाइएको र बाटो खुलाउनको लागि डिभिजन सडक कार्यालय मकवानपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।