११ वर्षीया बालिका ८ दिनदेखि बेपत्ता, बेपत्ता बनाएको हुन सक्ने आशङ्का

 महोत्तरीको गौशाला नगरपालिकामा ११ वर्षीया बालिका ८ दिनदेखि बेपत्ता छिन । गत बिहीबार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो बेपत्ता भएकी हुन ।  वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा बस्ने १९ वर्षीय आकाश कुशवाहा एकैदिन बेपत्ता भएपछि बालिकाको परिवारले कुशवाहाले नै  बेपत्ता बनाएको हुन सक्ने आशङ्का गरेका छन ।  

यसैको आधारमा कुशवाहामाथि बेपत्ता बालिकाको परिवारले किटानी जाहेरी समेत दिएका छन । 'आफन्त र केही सुराकीको आधारमा छोरीलाई  कुशवाहाले लिएर गएको थाहा पाएका छौ,' कृतिकाका बुवा सञ्जयकुमार महतोले भने ।

'उमेर नै नपुगेकी ११ वर्षीय छोरीलाई अपहरण शैलीमा भगाएपछि अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारवाहीको माग गरेका हौँ,' महतोले थपे।  बालिका कहाँ छिन भन्ने विषयमा मोबाइल फोन समेत प्रहरीले  ट्रयापिङ गरेको छ । ट्रयापिङको आधारमा ठाउँ पहिचान गर्दा बालिका आशङ्का गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको बेपत्ता बालिकाका परिवारजनले बताए ।

'हामी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौ त्यहाँ कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पायौँ,' बेपत्ता बालिकाका मामा देवनारायण महतोले भने।  'त्यसपछि उनीहरूले हामी खोजीरहेको थाहा पाएपछि कुशवाहाको हजुरबुबा प्रभु महतोको घरमा पुर्याएकोसम्म थाहा पाएका थियौ तर अहिले हाम्री भान्जी कहाँ छिन भन्ने केही थाहा छैन,' उनले थपे। 

प्रहरीलाई जाहेरी दिएको ५ दिन बितिसक्दा पनि खोजबिनमा सुस्तता देखिएको भन्दै आफन्तहरूले गुनासो गरेका छन । यता प्रहरीले भने खोजबिन प्रक्रियालाई तीव्रता दिएको र यसको लागि संयन्त्रहरू समेत प्रयोग गरिरहेको दाबी गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सूर्यबहादुर राणाले खोजी भइरहेको बताए । उनले भने, 'हामी लागिरहेका छौँ, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरू थुप्रै रहेछन् हामीले घरघरमा पुगेर समेत खोजी कार्यलाई तीव्र बनाएका छौँ।' बालिका बेपत्ताको विषयलाई लिएर मानव अधिकारवादीहरुले समेत ध्यानाकर्षण जनाएका छन्। मानवअधिकारवादी सम्वद्ध संस्था मधेस प्रदेश प्रमुख मन्जु खतिवडाले बालिका बेपत्तालाई लिएर आफूहरूको ध्यानाकर्षण भएको बताएकी छन्। 'उमेर नपुगेकी बालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अब अपहरण मुद्दामा बालिकाका आफन्त अगाडि बढ्नुपर्छ।' बेपत्ता भान्जीको विषयमा माइती नेपाललाईसमेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए ।