आँखा तरेर हेरेको निहुँमा दुई किशोरमाथि छुरा प्रहार , ३ रिसिइबी पक्राउ

रौतहटको सदरमुकाम गौरमा आँखा तरेर हेरेको निहुँमा दुई किशोरमाथि छुरा प्रहार भएको छ । हत्या गर्ने उद्देश्यले छुरा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।  पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-९ बस्ने १८ वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका-९ बस्ने १८ वर्षीय शिवमकुमार सहनी रहेका छन् । गुप्ताको समूह र गौर नगरपालिका-३ बस्ने १६ वर्षीय सुरजप्रसाद यादव र सोही ठाउँ घर भई मित्र मेमोरियल कलेजमा अध्ययनरत १६ वर्षीय अभिनाश कुमार यादवबिच विवाद भएको थियो । 

केही दिन अघि विद्यालय पढ्न जाँदा राइस मिलको पश्चिमतर्फको सडकमा एकले अर्कालाई आँखा तरेर हेरेको निहुँमा रिसिइबी भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार सोही रिसिइबीको कारणले बिहीबार राति सवा ८ बजे उनीहरूमाथि छुरा प्रहार भएको हो । 

छुरा प्रहार गरी गम्भीर घाइते बनाएर उनीहरू फरार भएको प्रवक्ता गिरीले जानकारी दिइन्। उनीहरूलाई खोजतलास गर्दै जाँदा घरकै कोठामा फेला पारी उनीहरूलाई  पक्राउ गरिएको थियो । तीनै जनामाथि ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप भएको छ । यसबारे अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।