महिनावारीमा आउने समस्या, भ्रम र मुक्ति पाउने उपाय
महिनावारी एक प्राकृतिक प्रक्रिया हो। तर यस सम्बन्धि उचित ज्ञान नपाउँदा र ध्यान नदिँदा कतिपयका लागि समस्या बनिरहेको छ। जसले गर्दा कति महिला शाररिक रुपमा मात्रै होइन, मानसिक रुपमा पनि पीडा खेपिरहेका छन्। कतिपयले यस बारेमा उचित ज्ञान नपाएर प्रशस्त भ्रम पालेका छन् भने कतिपयले हेलचक्र्याइँ गर्ने गरेका छन्। दुवै कार्य स्वास्थ्यका लागि हानिकारक छन्।
धेरै रगत बग्छ, समस्या हो?
धेरै महिलाको चिन्ताको विषयमध्ये एक हो यो। कतिपय महिलामा सामान्य भन्दा बढी रगत बग्ने हुन्छ। त्यसैले यस विषयमा उनीहरु चिन्तित देखिन्छन्। महिनावारीको समयमा बढी रगत बग्नुमा विभिन्न कुराले भूमिका खेलेका हुन्छन्। ‘त्यसमा पहिलो वंशाणुगत हुन सक्छ,’ वरिष्ठ स्त्री रोग विशेषज्ञ चन्दा कार्की भन्छिन्, ‘आमा वा दिदिबहिनीमा पनि बढी रगत जान्छ भने त्यो वंशाणुगत कारण भनेर बुझ्नुपर्ने हुन्छ।’
बढी रगत जाँदा महिलामा रक्त अल्पता हुने खतरा रहन्छ। त्यस्तै कम रगत भयो भनेर पीर मान्ने महिलाको सँख्या पनि धेरै छ। यस्तो अवस्थामा चिन्ता लिइराख्नु पर्दैन। तर, सधै ठीक मात्रामा हुन्थ्यो र एक्कासी रगत नै भएन भनेचाहिँ समस्या पहिल्याउनतर्फ लाग्नुपर्ने विशेषज्ञहरुको सुझाव छ।
महिनावारी रोक्ने वा सार्ने औषधिको प्रयोग
महिलाहरु कामकाजी हुन थालेका छन्। जसले गर्दा कहिलेकाहिँ कामको व्यस्तताले गर्दा मासिक धर्मलाई पर सार्न उनीहरु बाध्य हुने गरेका छन्। यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ। तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी नभएको चिकित्सहरु बताउँछन्। स्त्रीरोग विशेषज्ञ डा अग्रवालका अनुसार महिनावारी रोक्न प्रयोग गरिने औषधी स्वास्थ्यका लागि हानीकारक छ।
नेपालको परिवेशमा महँगो औषधीले कम असर र सस्तो खाँदा बढी असर पर्ने भ्रमात्मक सोच पनि छन्। डाक्टरले यसलाई सिधै इन्कार गर्छन्। औषधी जुनसुकै भएपनि त्यसले उत्तिकै हानी गर्ने उनीहरु बताउँछन्। विवाहित महिलाहरुलाई भन्दा अविवाहित महिलालाई बढी असर गर्ने भन्ने भ्रम पनि सही नभएको डा अग्रवाल बताउँछिन्।
किन दुख्छ पेट? ‘डिस्मेनोरिया
तर, रक्तश्रावको मात्रा बढी भयो वा दुखाइ सहनै नसक्ने गरी भयो भने स्वास्थ्य संस्थामा सम्पर्क गर्न जरुरी हुन्छ। कतिपय अवस्थामा घरेलु विधि अपनाउन चिकित्सक सुझाउँछन्, ती विधिअनुसार तातो झोल पदार्थको सेवन र मनतातो पानीले नुहाउने हो। यसो गर्दा आराम मिल्न सक्छ।
महिनावारी गडबढ किन ?
महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ। नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक भएको डा अग्रवालले बताइन्। उनी भन्छिन्, ‘शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ। यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ।’
कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ। पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन्। त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शररीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ।
तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ। बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्ने डा कार्कीले बताइन्। उनले उदाहरण दिँदै भनिन्, ‘परिक्षाको समयमा पनि किशोरीहरुको महिनावारीमा तलमाथि हुन सक्छ।’
पाठेघरका विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ। यसैगरी उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ जस्तो कि महिनावारी भएको शुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भइनै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन नहुने चिकित्सक बताउँछन्।
केही महिलामा १५ दिनको फरकमा पनि महिनावारी हुने समस्या हुन्छ। यो एकदम कम महिलामा हुने डा अग्रवालले बताइन्। उनका अनुसार महिनावारी हुने तालिका पहिलेदेखि नै १५ दिन रहेको भए सामान्य नै हो। एक्कासी १५ दिनमै फेरि दोहोरियो भने चाहिँ कुनै खराबी आएको बुझनुपर्ने उनले बताइन्। यस्तो बेलामा चाहिँ ढिलो नगरी चेकजाँच गराउँदा राम्रो हुन्छ।
पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ। यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्नेमा चिकित्सकहरु सचेत गराउँछन्। स्त्रीरोग विशेषज्ञ डा कार्की भन्छिन्, ‘यसलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्ने महिलाहरुको महिनावारी विग्रेको तथा स्वास्थ्यमा अन्य समस्या आइपर्ने देखिन्छ।’
अनियमित महिनावारीले हाम्रो दैनिक जीवनमा पनि असर पारिरहेको हुन्छ। चिकित्सकका अनुसार यसबाट जोगिन शरीरलाइै चाहिने पोषक तत्वको नियमित सेवन गर्नुपर्छ। तनावलाई कम गर्ने विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ। त्यस्तै समय–समयमा थाइराइड ज“चाइ राख्ने एवम् डाक्टरको परामर्श लिइरहने गर्नुपर्छ।
सरसफाईको कमीले आउने समस्या
सरसफाईको महत्व जताततै छ। महिनावारीमा विशेष ध्यान दिन आवश्यक छ। महिनावारी भएको समयमा संक्रमण हुने सम्भावना उच्च रहन्छ। डा ज्योति अग्रवालका अनुसार रगत यस्तो माध्यम हो, जसमा जिवाणु छिटो हुर्किने गर्दछन्। लगातार रगत बगिरहेको छ तर सरसफई छैन भने जिवाणुहरु योनीमार्ग हुँदै पाठेघरसम्म पुग्न सक्छन्। जसबाट संक्रमण हुने गर्दछ।
यस्ता समस्याहरुबाट जोगिन विशेष ध्यान दिन आवश्यक छ। नेपालका ग्रामीण भेगका महिलाहरु महिनावारीमा फोहोर कपडा प्रयोग गर्ने प्रचलन छ। जसले उनीहरुमा गुप्तांगको संक्रमणको समस्या बढी देखिन्छ। पछि गएर अन्य प्रजनन अंगमा पनि संक्रमण हुने सम्भावना उच्च रहने डा अग्रवालले बताइन्।
चेतनाको अभावका कारण महिनावारीमा प्रयोग गरेको कपडा सूर्यलाई देखाउनु हुँदैन भन्ने परम्परागत मान्यता कतिमा रहेको छ। घाममा सुकाउँदैनन् र अँध्यारामै राख्छन्। पटक पटक महिनावारी हुँदा फेरि त्यही कपडाको प्रयोग गर्दछन्। यसरी जथाभावी प्रयोग गरेको कपडाले भित्रि अंगमा संक्रमण हुने संभावना हुने डा कार्कीले बताइन्। यस्तो रोक्न कपडा चर्को घाममा सुकाउने र त्यस्तो कपडा नरम सुतिको हुन आवश्यक हुन्छ। रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन।
किशोरा अवस्थामा प्रवेश गर्दै गरेकी बालिकालाई महिनावारी सम्बन्धी जानकारी दिन एकदम जरुरी ठान्छिन् डा अग्रवाल। ‘महिनावारीका बारेमा शारिरीक मात्रै होइन, मानसिक हिसावले पनि परिपक्क बनाउनु आवश्यक हुन्छ,’ उनले भनिन्, ‘त्यसैले यस सम्बन्धि ज्ञान किशोरा अवस्थामा प्रवेश गर्दै गरेकी छोरीलाई दिन आवश्यक छ।’ उनीहरुलाई महिनावारी सम्बन्धी प्रकाशित वा प्रसारित सामग्री हेर्न लगाउने गर्नुपर्छ। रजस्वला जुनसुकै समयमा पनि हुन सक्ने भएकाले विद्यालयका मिसहरुलाई लाज नमानी त्यसको बारेमा बताउने तयारी अवस्थामा राख्न जरुरी छ।
प्रतिक्रिया