नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरू पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’ विषयक अन्तरक्रियामा उनले अरूसँगको सहकार्य भन्दा अगाडि आफ्नो घर ठीक राख्न जरुरी रहेको भन्दै पार्टीभित्र सहकार्य र सहमतिपछि मात्रै अरू दलसँग सहकार्य गर्न सकिने बताए । 


‘हामी सहमति, एकता र सहकार्यको कुरा गर्छौँ । तर त्यो नेपाली कांग्रेसभित्र नै छैन भने अन्य पार्टीसँग हुन्छ कसरी ? सम्भव नै छैन । सबैभन्दा पहिले हामीले आफ्नो घर ठिक राख्न जरुरी छ । घर ठिक राख्नलाई सहमति, सहकार्य, एकता आफ्नो साथीहरूसँग हुन जरुरी छ,’ कोइरालाले भने ।

उनले एमाले र कांग्रेसको नयाँ समीकरण भएको प्रसंगमा नेपाली राजनीतिको अस्थिरता कहिलेसम्म बोकिरहने भन्दै प्रश्न गरे । निर्वाचन प्रणालीमा सुधार गरेर जान सकेमा जनताले चाहेको कुरा पूरा हुन सक्ने कोइरालाको भनाइ छ । 

‘माओवादीले एमालेलाई लिएर सरकार बनायो । त्यसपछि उहाँहरूबीच के भयो थाहा छैन । फेरि नेपाली कांग्रेससित सहकार्य हुँदैछ । यस्तो अस्थिरतालाई कहिलेसम्म बोकिरहने ? संविधानमा सुधार गर्ने कुरा धेरै छन् । त्यसमा छेडछानी गर्न थालियो भने संविधान सुधार पनि हुँदैन । निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौँ भने केही न केही जनताले चाहेको पूरा हुन्छ,’ कोइरालाले भने ।

उनले प्रधानमन्त्रीले अहिलेसम्म पनि राजीनामा दिइनसकेको भन्दै एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुसी हुने अवस्था नरहेको धारणा राखे । नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प रहेको भन्दै नयाँ बन्ने सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जाने कोइरालाले बताए ।