पतनको डिलमा पुगेका प्रचण्डको गोटी किन बनिरहेका छन् रवि ?

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित चारै सांसद गोजीमा राजीनामा बोकेर बालुवाटार पुगेका थिए ।

सरकार अल्पमतमा परिसकेपछि सत्तामा बस्नु ‘राजनीतिक नैतिकताअनुरूप नहुने’ निष्कर्षसहित बालुवाटार पुगेका उनीहरूले फर्किँदा नैतिकता कता बिर्सिए भन्ने पत्तै नपाएको देखिन्थ्यो । केहीबेरको प्रचण्ड मन्त्रणामा मुग्ध भएका उनीहरू नैतिकताको तिलान्जली दिएर केही दिनका लागि भए पनि सत्ताकै चास्नीमा फर्किन पुगे । 

नयाँ, युवा र स्वतन्त्र भनिएकाहरूमा देखिएको यो तहको सत्तालिप्सा र नैतिकताविहीन कदम नेपाली जनताले सायदै अपेक्षा गरेका थिए । बरू उनीहरूभन्दा नैतिक त अशोक राईजस्ता पुराना र पाका नेताहरुमा देखियो, जसले राजीनामा बुझाएर पार्टीलाई अल्पमतको सरकारबाट अलग गराए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा नैतिकता खोज्नु त आफैमा अनैतिक भइसक्यो । उनी एउटा दलसँग मिलेर चुनाव लड्छन् । जसको भोटले चुनाव जित्यो, उसैसित बार्गेनिङ गर्न पुग्छन् । संकटका बेला एउटासँग सहयोग माग्छन्, अनि संकटको डिलबाट माथि उक्लिएपछि उही उद्धारकलाई भिरबाट खसाइदिन पछि पर्दैनन् । खासमा नेपाली राजनीतिलाई सबैभन्दा अधम स्तरमा पुर्‍याउने नेतामा प्रचण्डको नाम अगाडि आउँछ । २०७४ सालमा एमालेसँग मिलेर चुनाव लडी आफ्नो अस्तित्व जोगाए । पछि त्यही एमालेलाई फुटाएर चकनाचुर पारिदिए । ओलीलाई एक दिन पनि सरकारमा बसेर चैनसँग काम गर्न दिएनन् । माधव नेपाल र वामदेव गौतमलाई उनका विरुद्ध उचालेर घेराबन्दी गरे । ओलीलाई र एमालेलाई सिध्याउन उनले के मात्र गरेनन् ? सुरूमा उनले ओलीलाई पार्टीबाटै निकालेर नेतृत्व आफै कब्जा गर्न कस्सिए । त्यो सम्भव नभएपछि देउवासँग मिलेर गठबन्धन गरे ।  माधव नेपाललाई पार्टी फुटाउन लगाए । 
चुनावमा उनले एमालेविरुद्ध नै घेराबन्दी गरे । कांग्रेससँग मिलेर चुनाव लडे । चुनावमा ३२ सिट आएपछि त्यही कांग्रेसलाई धोका दिएर एमालेसँग मिल्न पुगे । ओलीको सहयोगमा प्रधानमन्त्री भए । प्रधानमन्त्री पद हात पारेको केही दिनमै फेरि कांग्रेसतिर लहसिए । एमालेसँग भएको सम्झौता लत्याएर राष्ट्रपति पद नै कांग्रेसको हातमा सुम्पिदिए । गत फागुनमा फेरि अनायासै कांग्रेसको साथ छाडे र एमालेतिर लहसिए । त्यसको चार महिना नपुग्दै उनले फेरि कांग्रेसको काँध चढ्ने योजना बनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिने कार्यक्रममा गएर उनले नेपालमा आफू कित्ता फेर्ने कसम खाएर आए । आउनेबित्तिकै देउवालाई सरकारमा साथ दिन आग्रह गरे । संसदमा बीआरआईविरुद्ध बोले । सित्तैमा पैसा पाए मात्र चिनियाँ कार्यक्रम बीआरआई कार्यान्वयनमा लैजान सकिने भन्दै निकै असान्दर्भिक र असन्तुलित अभिव्यक्ति दिए । 

एमालेलाई धोका दिन लागेको सुइँको पाएपछि ओलीले रणनीतिक प्रतिकार गरे र कांग्रेसलाई आफ्नो पक्षमा उभ्याए । प्रचण्डको साथ छाडिदिए । अल्पमतमा परिसकेपछि खुरुक्क राजीनामा दिएर सत्ता छाड्नुको साटो ओलीलाई रोक्न अनेक खेलकुद गरिरहेका छन् ।ओलीको हातमा सत्ताको साँचो जान नदिन हरसम्भव प्रयास गरिरहेका छन् । त्यसका लागि उनले राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरुलाई ‘सम्झाई–बुझाई’ गरेर आस र ढाडस बाँडे । 
शुक्रबार आफ्नो पक्षमा बाँकी रहेका दलका नेताहरूलाई बोलाएर सामूहिक छलफल गरे, जसमा रास्वपा, एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी थिए ।

केही दिनयता रवि लामिछानेको त कामै प्रचण्डको बाटो ढुक्ने भएको छ, सिंहदरबारदेखि बालुवाटारसम्मै । कतिसम्म भने शुक्रबार उनी गृह मन्त्रालयको बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ दिन राष्ट्रिय सभामा पनि गएनन् । उनको तर्फबाट श्रममन्त्री डीपी अर्यालले जवाफ दिए ।

सत्ताबाहेक सबै भ्रम हो भन्ने निष्कर्षमा रवि पुगिसकेका हुन् भने पनि यो तहको स्तरमा गिरेर प्रचण्डको चम्चागिरि गर्नु आवश्यक छैन । ओली र देउवासँगै मिले बरु त्यो औचित्यपूर्ण र संगतियुक्त हुनेछ । नभए सत्ताबाट टाढा रहेर जनतासँग सुखदुःखका समय बिताएर पनि रास्वपा बाँच्न सक्छ भनेर देखाउने अवसरको उपयोग गर्दा हुन्छ ।