युरो कप २०२४ : आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मीचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितीमा पुर्‍याए ।त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ डानी ओल्मोको पासमा मिकेल मेरिनोले ११९औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । अतिरिक्य समयमाको इन्जुरी टाइममा स्पेनका डाद्दी कार्भाजल रातो कार्ड पाउद मैदान बाहिरिएका थिए ।

स्पेन र जर्मनी दुवैले सर्वाधिक ३-३ पटक युरो जितेका छन् । घरेलु मैदानमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा जर्मनीको घरेलु मैदानङ्गै उपाधि जित्ने सपना अधुरै रह्यो । स्पेन भने चौथो उपाधि जित्ने यात्रातर्फ अघि बढेको छ ।

स्पेनले अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको खेलको विजेतासँग खेल्नेछ ।