मुगु कर्णालीको बिजुली फुकोट सबस्टेसनमा जोडिने

काठमाडौँ, २१ असार : मुगु कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् फुकोट सबस्टेसनमा जोड्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज मन्त्री शक्तिबहादुर बस्नेत र सचिव सरिता दुवाडीको उपस्थितिमा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाही र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

कूल एक हजार नौ सय दुई मेगावाट क्षमताको जलाशययुक्त आयोजनाबाट उत्पादित बिजुली चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ । मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । त्यसलगत्तै वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।

विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहीले मुगु कर्णाली आयोजनाको विद्युत् कहाँ कसरी जोड्ने भन्ने विषयमा रहेको अन्योलताको अन्त्य भएको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मुलुकको आवश्यकतालाई ख्याल गरेर प्रसारण लाइन निर्माण गरिने भएकाले आजको समझदारी महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव दुवाडीले सरकारी स्वामित्वका दुई कम्पनीबीच समझदारी हुनु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आयोजनाको कामलाई थप गति दिन आग्रह गर्नुभयो ।

सो अवसरमा ऊर्जामन्त्री बस्नेतले कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकासका लागि मुगु कर्णाली जलविद्युत् आयोजना अति आवश्यक रहेको बताउनुभयो । उहाँले सो आयोजनाका सम्बन्धमा बाँकी रहेका काम समयमै पूरा गर्न निर्देशन दिनुभयो । आयोजनासँग जोडिएका अन्य कामलाई तीव्र गतिका साथ अगाडि बढाउन र कुनै कमजोरी नगर्न सम्बद्ध पक्षलाई मन्त्री बस्नेतले निर्देशन दिनुभयो । सरकारले अगाडि सारेको आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न यस्ता प्रसारण लाइन महत्वपूर्ण मानिन्छन् ।