हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ,प्रचण्डले विश्वासको मत नपाए प्रतिपक्षमा बस्छाैं : झलनाथ खनाल

 नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । शुक्रबार प्रचण्डसँगको भेटपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् । 

उनले  भने, ‘प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने कुरा गर्नु भएको छ । हामीसँग पनि विश्वासको मत माग्नुभयो । हाम्रो पार्टीले पनि तपाईँलाई समर्थन गर्छ भनेका छौँ । तपाईँको नेतृत्वको सरकारमा हामी सहभागी भएका हाँ । तपाईँलाई विश्वासको मत दिन्छौ भनेका छौँ ।’ नेता खनालले प्रधानमन्त्रीले विश्वासको मत पाउने पनि विश्वास व्यक्त गरेका छन् । नेपालको राजनीति रातारात परिवर्तन हुने भन्दै उनले प्रधानमन्त्रीले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘नेपालको राजनीति रातरात परिवर्तन भइरहन्छ । २८ गतेसम्म ६३ मत मात्र रहिरहन्छ भनेर कसरी ढुक्क हुने । एक रातमा एउटा हुन्छ, अर्को रातमा अर्कै हुन्छ । पहिला पनि त्यस्तै चक्कमा दिने घटना भएका थिए । के हुन्छ भन्ने भन्न सकिँदैन ।’ 

नेता खनालले वामपन्थी एकताको आवश्यक रहेको पनि बताए । उनले आफूले सुरदेखि नै वामपन्थी एकताको वकालत गर्दै आएको भन्दै देशमा वामपन्थी एकताको आवश्यक रहेको बताए । नेकपा एमालेलाई लक्षित गर्दै उनले कतिपय वामपन्थीले दक्षिणपन्थी र दलाल पुँजीपतिसँग साठगाँठ गर्ने र अंकमाल गर्न लागेको बताए । नेता खनालले एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्य गरेकोमा प्रधानमन्त्रीले आश्चर्य प्रकट गरेको बताए । उनले प्रधानमन्त्रीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वर्ग गएपनि सँगै जाने बताएको तर पछि कांग्रेससँग मिलेको भन्दै प्रचण्डले आश्चर्य प्रकट गरेको बताए । 

नेता खनालसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए प्रतिपक्षमा बस्ने बताएका थिए ।