सेवानिवृत्त हुन भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ [ तसबिरहरू]

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु  भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका  हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा योग्य, अनुशासित, अनुभवि र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित गराउँदै सेवा अवधि सफलतापूर्वक निर्वाह गर्नुभएकोमा बधाई समेत दिनुभयो । संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको
उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई मायाको चिनो प्रदान गर्नुभयो । 

कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायव महानिरीक्षक पोखरेल वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम्व रिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।