नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आ.व. २०७७/०७८ मा विनियोजित बजेटबाट जिल्ला सिरहा, नवराजपुर गाउँपालिका वडा नं. २ स्थितमझौरा हुँदै बरगाछी देखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीनिवेदन सम्बन्धमा अनुसन्धान भएकाे थियाे ।

साेहि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सव-इन्जिनियर संतोष कुमार यादव र लेखापाल सोम प्रसाद आचार्यले आ.व. २०७७/०७८ मा जिल्ला सिरहा, नवराजपुर गाउँपालिका वडा नं. २ स्थित मझौरादेखि वरगाछी हुँदै पटनासम्म माटो र ग्राभेल योजना सम्झौता र नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गरी गराईएकाे पाइएकाे छ ।

वास्तविक काम भन्दा बढीको मूल्यांकन गराई ग्रावेल खरिद तथा ढुवानी समेतको लागि नवराजपुर गाउँपालिकाको नामको सरकारी सवारी साधन प्रयोग गरी उक्त सवारी अन्य व्यक्तिको भनी झुट्टा भरपाई लगायतको कागजात तयार गरी ग्राबेल खरिद तथा ढुवानी गरेको भनी रकम भुक्तानीको लागि पेस गरी नभए नगरेको  कामलाई भए गरेको भनी झुट्टा बिल भरपाई, नापी किताव, कार्य सम्पन्न प्रतिवेदन तयार गरी/गराई भुक्तानीको लागि स्वीकृत गरीएकाे थियाे ।  

ग्रावेल खरिद तथा ढुवानीका लागि रु.१२,०७,२६०.४५/- बढी भुक्तानी दिई निजहरु अमरेन्द्र कुसियैत, कृष्णा साह, संतोष कुमार यादव र सोम प्रसाद आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.१२,०७,२६०।४५ (बाह्र लाख सात हजार दुई सय साठी रुपैयाँ पैतालीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन साथै निजहरु अमरेन्द्र कुसियैत, कृष्णा साह र संतोष कुमार यादवले गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन (नापी किताव), कार्य सम्पन्न प्रतिवेदन तयार गराई सोही आधारमा भुक्तानी सदर तथा भुक्तानीको लागि पेश गरी भुक्तानी समेत गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ।

उपभोक्ता समितिका अध्यक्ष जिवछ कुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल भन्ने राम उदगार खत्वे मण्डलले गाउँपालिका बीच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरे अनुसारको लागत अनुमान बमोजिमको कार्य नगरी झुट्टा बिल भरपाई, डोर हाजिरी एवं प्राविधिकबाट तोकिएबमोजिम भएको भनी देखाउनका लगि नापजाँच र मूल्याङ्कनसहितको Measurement book, valuation sheet and work completion report समेतको गलत प्रतिवेदन पेस गरी भए गरेको कार्य भन्दा बढी कार्य गरेको भनी बढी मूल्याङ्कन गरी/गराई रु.१२,०७,२६०।४५ बढी भुक्तानी लिएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिमको कसुरमा बिगो रु.१२,०७,२६०।४५ (बाह्र लाख सात हजार दुई सय साठी रुपैयाँ पैतालीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो जफत हुन मागदाबी लिइएको छ।

नवराजपुर गाउँपालिकाको वडा नं. २ का तत्कालीन वडा अध्यक्ष खुसिलाल साहले इष्टिमेट अनुसार कार्य गरेको भनी भए गरेको कुरा लुकाई/छिपाई नभए नगरेको कुरा देखाई रकम भुक्तानी गर्न सिफारिससमेत गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (2) बमोजिमको कसुरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।