दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार

दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका सहाराविहीन दुईजनाको उद्धार गरिएको छ । शारीरिक तथा मानसिक समस्यामा परेर खुला सडकपेटीमा जीवन बिताइरहेका एक महिला र एक पुरुषलाई प्रहरीले उद्धार गरेर मानवसेवा आश्रम विराटनगर पठाएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत उनीहरुलाई बिहीबार साँझ मानवसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । 

अन्दाजी ३०÷३५ वर्षका ती पुरुष स्थानीय बासिन्दाले दिएको खानेकुरा खाएर खुला आकाशमुनि बस्दै आएका थिए । बोल्न नसक्ने भएकाले उहाँको नाम थर एवम् ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ शङ्खु घर र हस्तकला राई नाम बताउने अन्दाजी ४५÷४६ वर्षीया मानसिक समस्या भएकी महिलाको पनि उद्दार गरिएको छ ।  नगरप्रमुख तीर्थराज भट्टराईले बेसहारा बनेका व्यक्तिको जीवनयापन तथा सडक मानवमुक्त बनाउन नगरपालिकाले प्रहरीसँगको सहकार्यमा कार्यक्रम गरिरहेको बताउनुभयो ।