न्युरोडकाे लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको खुलसा

काठमाडौंको न्युरोडस्थित लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको खुलेकाे छ ।

सुन तस्करीको अनुसन्धान गरिरहेकाे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस्ताे प्रमाण फेला पारेकाे हाे ।सीआईबीले काठमाडौं महानरपालिका-२२, न्युरोड क्षेत्रमा रहेको भारतीय नागरिक सिद्धनाथ अशोक गायकवाडको सुन रिफाइनरी कोठाबाट केही कागजात बरामद गरेको थियो, जहाँ लक्की ज्वेलर्सको नामको बिलप्याडसमेत भेटिएको थियो ।

उक्त बिल प्याडअनुसार २९ पुस २०७९ मा १२१.५५ किलो, ११ असोज २०७९ मा १७७.४१९ किलो, १२ असोज २०७९ मा १८.३६० किलो र ६ पुस २०७९ मा १३.७२ किलो गरी ३३१.०४९ किलो तस्करीको सुन लक्की ज्वलेर्सले किनेको देखिएको सीआईबीले जनाएको छ ।सिद्धनाथको रिफाइनरी हाउसबाट कागजात बरामद भएपछि लक्की ज्वेलर्सका म्यानेजर ३८ वर्षीय मुकुन्दकुमार ठाकुर र सञ्चालक ऋषि ठाकुर फरार छन् ।

सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा लक्कीका म्यानेजर मुकुन्द र सञ्चाल ऋषिलाई पनि प्रतिवादी बनाइएको छ ।सुन तस्करीमा लक्की ज्वेलर्स पनि संलग्न भएको कागजात भेटिएपछि मुद्दा मिलाइदिने भन्दै लक्की ज्वेलर्सबाट १० लाख रूपैयाँ लिएको आरोपमा सीआईबीले सरोज गुप्ता नाम गरेकी एक महिलालाई बयानमा बोलाएर तारेखमा छाडेको छ ।

यसअघि मोबाइल वालेट कम्पनीहरूले समेत मुद्दा मिलाइदिन पूर्वडीएसपी केपी शर्मा भन्ने कृष्णप्रसाद शर्मा र झवीन्द्र खत्रीले ८ लाख ५० हजार रूपैयाँ लिएको पाएपछि सीआईबीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूविरूद्ध आपराधिक विश्वास गरी ठगी गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।