प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत दिन ६३ जना सांसदकाे मात्र समर्थन

 सत्ता बहिर्गमनको मुखमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले राजीनामा नदिने निर्णय सुनाएका हुन् । जसअनुसार उनले संसद्‍मा विश्वासको मतको सामना गर्नेछन् ।असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर सत्ता समीकरण बनाएपछि अल्पमतमा रहेका प्रधानमन्त्रीले संसद्‍मा विश्वासको मतको सामना गर्न लागेका हुन् । नयाँ समीकरण बनेसँगै एमालेले समर्थन फिर्ता लिइसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनमत पार्टी(जपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लगायतले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने तयारीमा छन् । यद्यपि जसपा, जपा र नाउपाले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएका छैनन् । 

सत्ता घटक तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मन्त्रीहरु बिहीबार राजीनामा दिन बालुवाटार गएपनि नदिई फर्किएका थिए । उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बेलासम्म पर्खिन आग्रह गरेकाले राजीनामा नदिएको रास्वपाका नेताहरूले बताएका छन् । सत्ता घटक अर्को दल एकीकृत समाजवादीले पनि सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ । 

यदि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिई संसदबाट विश्वासको मत लिएमा उनलाई माओवादी केन्द्रसहित रास्वपा र एकीकृत समाजवादीको मात्र समर्थन रहने देखिन्छ । संसदमा माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसद मात्र विश्वासको पक्षमा देखिएका छन् । 

एक सिट रहेको आम जनता पार्टी(अजपा), नेपाल मजदुर पार्टी(नेमकिपा), राष्ट्रिय जनमोर्चा(राजमो) र स्वतन्त्र दुई सांसद अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् ।