सुन तस्करीको रकम भुक्तानीमा संलग्न रहेका पेवेल नेपाल र सजिलोपे पेमेन्ट संचालकमाथि ८१ अर्ब रुपैयाँको मुद्दा दायर

६० किलो सुन तस्करीको रकम भुक्तानीमा संलग्न रहेका दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल प्रा.लि. र सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि. माथि ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ दाबी गरिएको छ।

गत मंगलबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा ती दुई कम्पनीबाट सुन तस्करीमा उक्त रकम बराबरको कारोबार र भुक्तानी भएको उल्लेख गरिएको छ।

पेवेल नेपालका सञ्चालक तथा कर्मचारी भीम प्रसाद तिमल्सिना, नेपाल भूषण चन्द, पाल्साङ लामा, खेलानन्द प्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरज सम्शेर ज.ब.राणा र मिलन भन्ने मिन बहादुर दुलाल समेत आठ जना विरुद्ध मुद्दा दायर भएको छ। उनीहरूसँग ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २ सय ३३ कायम गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदावी गरिएको छ।

यस्तैगरी सजिलोपे पेमेन्ट सर्भिसेजका सञ्चालक तथा कर्मचारी प्रतिवादीहरू सुनिल जाकीबन्जा, फुनछुक डाक्पा आथुपछाङ, काश्यप मानन्धर, रोशनबाबु मल्ल समेत चार जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ रुपैयाँ बिगो दाबी गरेको छ। उनीहरूलाई पनि अन्य अभियोगसँगै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदावी थप लिइएको छ।तर सजिलो पेका सुशील जाकिबन्जालाई भने मुद्दा नचलाउने निर्णय गरिएको छ।

उल्लिखित पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको खातामा अवैध सुनको कारोबारबाट प्राप्त गरेको रकम जम्मा गरेको सम्बन्धमा अनुसन्धानको क्रममा तयार गरिएको छुट्टै प्रतिवेदन पनि अभियोगपत्रसँगै जिल्ला अदालतमा पेस गरिएको छ।सीआईबीले प्रतिवादी शिवकुमार सर्राफको मोबाइल परीक्षण गर्दा तस्करीको सुनको भुक्तानीमा यी दुई मोबाइल वालेटको प्रयोग हुने तथ्य फेला पारेको थियो । प्रतिवादी राजु खत्री र सर्राफका बिच भएको ह्वाट्सएप कुराकानीका आधारमा पेवेल र सजिलो पेमेन्टको बारेमा खुलासा भएको हो।

सीआईबीकाअनुसार उनीहरुले मोबाइल वालेटको स्लिपको ‘पर्पोज अफ डिपोजिट’मा रेमिट्यान्स, लोन पेमेन्ट, सापटी फिर्ता लगायत उल्लेख गरेका थिए।यस बाहेक कुंगा टासी शेर्पा भन्ने चिनियाँ नागरिक जेङ्ग्गा झाङ्गीले (यूएसडीटी) क्रिप्टोको कारोबार गरेर सुनको भुक्तानी दिने गरेका थिए। सोनाम गुरुङ भन्ने शेरब ग्याल्मो लगायतले डिजिटल क्वाइन-यूएसडीटी बनाउँदै भुक्तानी गर्ने गरेको तथ्य फेला परेको अभियोग पत्रमा उल्लेख छ।

क्रिप्टोमार्फत भुक्तानी नपुगेपछि ‘पेवेल’ र ‘सजिलो पे’ प्रयोग हुने गरेको अनुसन्धानको क्रममा फेला परेको थियो। सोही विषयलाई समेत अभियोग पत्रमा उल्लेख गरिएको छ।

उनीहरुमाथि मनि लाउण्डरिङ गरेको अभियोग समेत लगाईएको छ। मुद्रा निर्मलीकरण गर्ने कार्यमा संलग्न रहेका भुक्तानी सेवा प्रदायक संस्थाहरूले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), नेपाल राष्ट्र बैङ्क ऐन विपरीतको कसुर गरेको प्रस्ट देखिएको भन्दै सोहीअनुसारको अभियोग र कारबाही हुनुपर्ने जिकिर छ।