नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले नेतृत्वको नयाँ सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले नेतृत्वको नयाँ सरकारमा सहभागी हुने भएको छ ।

बिहीबार नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर अब बन्ने सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।नाउपाका संघमा चार सांसद छन् । केही दिनअघि मात्रै नाउपाको संसदीय दलले केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएर गंगा चौधरीलाई चयन गरेको थियो ।

देउवासँगको भेटमा चौधरीले एमाले–कांग्रेसको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका हुन् । अब संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय गर्ने नेता चौधरीले बताए ।

श्रेष्ठ संसदीय दलको अध्यक्ष हुँदा उनले माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गराएकी थिइन् । नाउपाका चारमध्ये तीन सांसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए ।प्रधानमन्त्री दाहालले श्रेष्ठलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागी गराउने तयारी गरेका थिए ।

मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भइरहँदा केन्द्रीय गठबन्धन नै परिवर्तन भएको छ ।