नेपालकाे लोक सेवा आयोगको वेबसाइट बङ्गलादेशी ह्याकरकाे नियन्त्रणमा

 लोक सेवा आयोगको वेबसाइट बङ्गलादेशी ह्याकरले नियन्त्रणमा लिएका छन् । बुधवार राति टेलिग्राम च्यानलमा एक भिडिओ राख्दै ह्याकर समूहले लोक सेवाको वेबसाइट आफ्नो कब्जामा भएको दाबी गरेको हो । 

अहिले आयोगको वेबसाइभित्रै अपलाेड को एउटा पेज हेर्दा त्यहाँ बङ्गाली ह्याकरले आफ्नो लोगो राखेका छन् । आफूलाई बङ्गलादेशको ग्रे ह्याट ह्याकर भएको दाबी गर्ने उक्त समूहले नेपाली ह्याकरसँग बदला लिन यो काम गरेको उल्लेख गरेको छ । 

लोक सेवा आयोगको उक्त पेजमा लेखिएको छ, “नेपाल सरकारलाई चेतावनी !!! एनोनिमस बंगलादेश मौन हुनेछैन । तिम्रो देशका केही बच्चाहरूले हाम्रो साइबर स्पेसलाई छोइरहेका छन् । अब काउन्टर साइबर आक्रमणको सामना गर्न तयार हौ ।

 

टेलिग्राम च्यानलमा पनि नेपाली ह्याकरले आक्रमणको प्रयास गरिरहेकाले नै यो कदम चालिएको उक्त समूहको भनाइ छ ।

“नेपाल लोक सेवा आयोग सरकारी वेबसाइट एनोनिमस बङ्गलादेशद्वारा ह्याक गरिएको छ,” उक्त समूहले लिङ्क र भिडिओ राख्दै लेखेको छ, “केही स्किड्सहरूले हाम्रो देशलाई आक्रमण गरेकाले यस्तो कदम चालिएको हो ।” 

 

 

त्यसबाहेक यो समूहले ४१८ केबीको लोक सेवा आयोगको सोर्स कोड पनि लिक गरेको छ । यो स्याम्पल मात्र रहेको उक्त समूहको दाबी छ ।“उनीहरूले यो स्याम्पल मात्र हो भनेकाले पुरै डेटाबेस नै उनीहरूसँग भएको अनुमान लगाउन सकिन्छ,” एक साइबर सुरक्षा अनुसन्धानकर्ताले भने ।

 

यो समूहले यसअघि नेपाल बैंक लिमिटेडको वेबसाइट एक दिनसम्म डाउन बनाएको दाबी गरेको छ । त्यसबाहेक मानव सेवा आश्रमका एक हजार स्वयंसेवकको नाम, आईडी, ईमेल र मोबाइल नम्बर समेत यो समूहले टेलिग्राममा सार्वजनिक रूपमा राखिदिएको छ । त्यस्तै आश्रमको वेबसाइटको लगइन विवरण राख्दै यो समूहले तीन लाख प्रयोगकर्ताको डेटाबेस लिक गरिदिने धम्की दिएको छ ।

 

 

उक्त समूहले डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका लागि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको एड्मिन पोर्टल पनि लिक गरेको छ ।पछिल्लो समय नेपालका विभिन्न वेबसाइट डाउन हुने गरेका छन् । यसका पछि डीडस आक्रमण रहेको साइबर सुरक्षा अनुसन्धानकर्ताको अध्ययन देखिएको छ ।

डीडस आक्रमण भन्नाले कुनै पनि वेबसाइटमा अस्वाभाविक ट्राफिक ल्याएर साइट नै डाउन गरिदिने काम हो । नेपाली ह्याकरसँग बदला लिनकै लागि उक्त समूहले नेपालमा आक्रमण थालेको ती अनुसन्धानकर्ताको भनाइ छ । उक्त समूहले नेपालको रक्षा मन्त्रालयको साइटलाई टार्गेट गरेको समेत जनाएको छ । 

“यसरी नागरिकका लागि महत्त्वपूर्ण हुने वेबसाइट तथा पूर्वाधारमा आक्रमण हुँदा त्यसले सेवामा बाधा पुर्‍याउने देखिन्छ,” ती अनुसन्धानकर्ताले भने, “त्यसमा पनि सरकारी निकायले संवेदनशील डेटा राख्ने र अत्यावश्यक सेवा उपलब्ध गराउने भएकाले ती साइटहरू साइबर आक्रमणको निशानामा परेका छन् ।” 

त्यसैले अहिले सरकारले यस्ता किसिमका आक्रमणलाई समयमै निगरानी गरी सम्भावित खतराबाट देशलाई जोगाउन आवश्यक रहेको उनको भनाइ छ । उनले अगाडि भने, “पछिल्लो समय टेलिग्राम साइबर अपराधीका लागि आक्रमणका लागि समन्वय गर्ने र गरेका आक्रमणको विवरण सार्वजनिक गर्ने उपयुक्त प्लेटफर्म बनेको छ । त्यसैले त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ ।”