गगनले सघाउँदा काठमाडौंबाट रास्वपाले २ सिट नाफामा पायो : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गम्भीर आरोप लगाएका छन् ।

उनले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा यात्राको प्रतिवेदनमा कांग्रेस महामन्त्री थापामाथि गम्भीर आरोप लगाएका हुन् ।डा. ढकालको प्रतिवेदनमा कांग्रेस महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा जित्न कांग्रेसकै दुईजना उम्मेदवामाथि अन्तरघात गरेको आरोप छ ।थापाले आफ्ना पक्षधरहरूलाई ‘घण्टी’ मा मत हाल्न लगाउँदा रास्वपालाई उपत्यकामा प्रत्यक्षतर्फ २ सिट नाफा हुन पुगेको दाबी गरेका छन् ।

‘२०७९ मंसिरको चुनावमा गगनविरूद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर उनैलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ,’ ढकालले प्रतिवेदनमा लेखेका छन्, ‘हुन त गगनले जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा हामीलाई २ सिट नाफा हुन पुग्यो ।’

यद्यपि, रास्वपाका निलम्बित महामन्त्री ढकालले कांग्रेस महामन्त्री थापाले आफ्ना पक्षधरलाई ‘घण्टीमा’ भोट हाल्न लगाउँदा प्रत्यक्षतर्फ २ सिट नाफा भएको निर्वाचन क्षेत्रबारे खुलाएका छैनन् ।

उनले भनेका छन्, ‘नतिजाले काठमाडौं ४ पनि हामीले जित्ने देखाएकाले गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्न पर्ने हुन्छ ।’