ओलीद्वारा एसइईको मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका छन्।

बिहीबार रुपन्देहीमा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले सो घोषणा गरेका हुन्।एसइई परीक्षा राम्रोसँग उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने उनले बताए। 

उनले काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिने उल्लेख गरे। ‘त्यसका लागि केपी शर्मा ओली फेसबुक पेजमा कन्ट्याक्ट गर्नुहोला। अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नुहुनेछ।’ उनले भने।

उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताए।

अध्यक्ष ओलीले शिक्षकहरुलाई आवश्यक तालिम दिन नसक्दा गुणस्तरीय शिक्षक पाउन कठिन रहेको भन्दै नलेज ट्रान्सफर गर्नसक्ने क्षमता भएका शिक्षकहरुको आवश्यकता रहेको बताए।