सभापति लामिछानेभन्दा मोदीलाई भेट्न सजिलो छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेसँग भेट्नभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको टिप्पणी गरेका छन्। समिक्षा यात्रामा सभापतिमाथि नै पहिलाे पटक प्रश्न उठेकाे प्रसं‌ग उठाउँदै उनले यस्ताे बताएका हुन् ।

साथै उनले सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?’, उनले उल्लेख गरेका छन् ।

महामन्त्री ढकालले प्रतिवेदनमार्फत जनताको अर्काे प्रश्न पनि स्मरण गराएका छन्, ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’ यस्तै, सभापतिको सचिवालयमा मृदुभाषी नभएको, पार्टीमा ग्यालेक्सीको टिम धेरै भएको, सरकारमा गएपनि साेचेअनुरुप फाइल नखोलिएको, सभापतिमा त्यागको भावना नभएकोलगायतको प्रश्न उठाइएको छ ।

बुधबार केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएकाे याे प्रतिवेदन कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार सार्वजनिक गरेका हुन् । प्रतिवेदन ३२ पृष्ठ लामो छ ।