एमालेले प्रधानमन्त्रीलाई भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने काम नगर्नु

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरेको छ।  बिहीबार एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर हुने काम नगर्न आग्रह गरे। 

'संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन एमाले सम्माननीय प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गर्दछ,' विज्ञप्तिमा उल्लेख छ। 

एमालेले प्रधानमन्त्री प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सामेल हुन आग्रह गरेको छ।  सोमबार मध्यराति संसदका दुई ठूला दल कांग्रेस र मिलेर नयाँ सरकार बनाउने सहमति भएसँगै यी दुवै दलले प्रधानमन्त्रीलाई प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। तर, अहिलेसम्म कुनै पनि दलले औपचारिक रूपमा समर्थन फिर्ता लिएको पत्र संसद्‌मा दर्ता गराएका छैनन्।  बुधबार एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष दिएको राजीनामा भने स्वीकृत भइसकेको छ।