बाँकेमा फरार प्रतिवादी समात्न खोज्दा प्रहरी र स्थानीयबीच झडपपछि गोली चल्यो

बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा एक जना डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,’ कार्कीले भने।

प्रहरी उपरीक्षक कार्कीका अनुसार, झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन्।

प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँटले टाउकोमा चोट लागेको छ। घाइते दुवैको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। 

‘डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार छ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो। स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो।’

सर्दारलाई पक्राउ गर्न खोज्दा करिब एक घण्टा स्थिति तनावग्रस्त बनेको थियो।