वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न सरकारले बनायो समिति

सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न समिति बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १८ असारको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानविन समिति बनाएको हो ।

निगमले वाइडबडी जहाज ३३० को सी-चेकका लागि इटाली पठाएको छ । न्यारोबडी जहाजको इन्जिन मर्मत गर्न इजरायल पठाएको थियो । यी दुवै निर्णय विवादित भएका छन् । यो समितिमा प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, एक जना चार्टर्ड एकाउन्टेन्ट, एक जना कानुन विज्ञ रहने गरी तोकिएको छ ।

मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराईलाई सदस्य सचिव तोकिएको छ । समितिले १५ दिनभित्र दुवै जहाजका इन्जिन मर्मतबारे भएका निर्णयहरू अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।

मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पत्र लेखी ए३२० जहाजको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाएकोमा त्यसको सबै कागजात, फाइल तथा पत्राचार माग गरेको छ ।

निगमको ए३३० जहाज इटाली पठाउँदाको सम्पूर्ण निर्णय प्रक्रिया तथा निगमको प्रावधान र सोसँग सम्बन्धित कागजात, निर्णय, पत्राचार र इमेल समेत माग गरेको छ । साथै यी दुई जहाजको इन्जिन मर्मतमा संलग्न अधिकारीहरुको नाम र विवरण समेत मन्त्रालयले माग गरेको छ ।