आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेती ९ करोड ठगेको आरोप

काठमाडौँको सुकेधारा स्थित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ।

दोलखाको मान्दु-८ स्थायी ठेगाना भएका ६५ वर्षीय उप्रेतीलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो। सहकारी अभियन्त भनेर चिनिने उनी राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष पनि हुन्।

६५ जना बचतकर्ताको ९ करोड २ लाख ६९ हजार रूपैयाँ अपचलन गरी ठगी गरेको जाहेरी प्राप्त भएकाले अदालतको अनुमति लिई पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

प्रहरी वृत्त महाराजगन्जमा परेको जाहेरीअनुसार अध्यक्ष उप्रेतीसहित १२ जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा पक्राउ अनुमति जारी भएको प्रहरीको भनाइ छ।

उक्त सहकारीमा हाम्रो सगरमाथा, आइडियल यमुना, नागरिक कल्याण, तपाईं-हाम्रो र घेदुङ बहुउद्देश्यीय गरी ५ वटा सहकारी गाभिएका थिए। २०८० चैत ९ गते सहकारी विभाग नयाँ बानेश्वरमा दर्ता भएको उक्त सहकारीको रकम अपचलनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।