रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु

धनकुटाको साँगुरी गढी गाउँपालिका- ३ माफलामे रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको छ । रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर पाँचथरको तुम्बेवा गाउँपालिका-२ का ४० वर्षीय मदन मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार अपराह्न पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर उनको टाउकोमा लागेको थियो। गम्भीर घाइते अवस्थामा उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानमै उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।