एकीकृत समाजवादीले अध्यक्षमा माधव नेपाललाई सर्वसम्मत बनाउने तयारी

नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउने तयारी गरिएको छ।

बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू सर्वसम्मतिको प्रयासमा रातभर जुटेपछि उनलाई सर्वसम्मत अध्यक्ष बनाउन अर्का आकांक्षी घनश्याम सकारात्मक देखिएका छन्।अध्यक्षमा दाबी गर्दै आएका भुसाल सकारात्मक देखिएपछि नेपाल सर्वसम्मत अध्यक्ष चयन हुने सम्भावना बढेको नेकपा एसका एक नेताले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिको संख्या नेपालको पक्षमा अधिक देखिएपछि भुसालले अध्यक्ष पदमा दाबी छोडेको हुन सक्ने ती नेताको भनाइ छ। अध्यक्षमा आकांक्षी रहेका भुसालले भने आफ्ना लागि कम्तीमा तेस्रो वरीयता खोजेका छन्। उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने माग अघि सारेका छन्।

भुसालले अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेका छन्। भुसालले रोजेकै पद वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको पनि दाबी छ।नेपाल भने भुसाललाई महासचिवमा दोहोर्‍याउन चाहन्छन्। उनको वरीयताका विषयमा पार्टीमा सहमति हुन बाँकी छ।केन्द्रीय निर्वाचन कमिटीले बिहीबार बिहान महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ।

२१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ।