एकीकृत समाजवादीको आज नयाँ नेतृत्त्व चयनका लागि मतदान हुँदै

काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्त्व चयनका लागि मतदान हुँदैछ।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ। जसअन्तगर्त मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजका लागि तोकिएको छ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ। सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ।एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ।