पर्यटकीयस्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति

दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति सुरु भएको छ । बबई गाउँपालिका पूर्वाधार शाखाका इञ्जिनियर राजेश देवकोटाले करिब रु ६५ लाख ६५ हजार एक सय ८५ रुपैयाँको लागतमा सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न थालिएको जानकारी दिनुभयोे । बबई गाउँपालिका–५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने करिब नौ सय मिटर सडक कालोपत्रको काम भइरहेको हो । 

सङ्घ सरकार र स्थानीय सरकारको ५०/५० प्रतिशत लागत सहभागितामा सडक स्तरोन्नतिको काम अगाडि बढेको देवकोटाले बताउनुभयो। सडक स्तरोन्नतिसँगै यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास गरिएको छ । स्थानीय दीपक शाहका अनुसार विगतमा राम्रो बाटो नहुँदा यो झरना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको थिएन । “विगतमा सडक नहुँदा वर्षात्को समयमा पर्यटक आउँदैनथे तर अहिले सडक स्तरोन्नतिको भएको छ । ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा वर्षात्मा पनि त्यहाँ दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।”