जनताको कुरा बोलेकै आधारमा निलम्बन गरियोः डा. ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। 

ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासहीन व्यवहार गर्नुका साथै पार्टीको छवीमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपा संस्थापन पक्षको आरोप छ।  

बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो। 

रवि लामिछानेले प्रस्तुत गर्न नदिएको रास्वपा महामन्त्री मुकुल ढकालको प्रस्तावमा के छ?डा. ढकालले भने आफूलाई बोलेकै आधारमा सभापति लामिछानेले निलम्बन गरेको उल्लेख गरेका छन्। बुधबार मध्यराती सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा राखेका हुन्।  

"विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारवाहि भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए", उनले लेखेका छन्। 

पार्टीमा जनताको आवाज बोल्दा सभापति विरुद्ध बोले जस्तो हुने गरेको उनले उल्लेख गरेका छन्। ढकालले लेखेका छन्, "जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाही भएको छ।"