बुधबारको रास्वपा केन्द्रीय समिति बैठक तनावपूर्ण, ५२ मध्ये दुई केन्द्रीय सदस्य उभिए महामन्त्री ढकालको पक्षमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बिहानैदेखि पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठक तनावपूर्ण रह्यो। 

महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने गरी आजको बैठक बोलाइएको थियो।बैठकमा सहभागी हुन पुुगेका महामन्त्री ढकाल फरक तरिकाले प्रस्तुत भए। मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर बैठकमा पुगेका उनले सुरुदेखि नै प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राखेका थिए। 

उनको मागलाई फ्लोरले नै अस्वीकृत गरेपछि लाइभ हुन सकेन। ढकालले लगेको लिखित प्रस्ताव पनि बैठकमा राख्न सभापति रवि लामिछानेले अनुमति दिएनन्। त्यसपछि पार्टी बैठकमा मौन बसेका महामन्त्री ढकाल आफ्ना केही कुरा नराखी बैठकबाट निस्किए। 

बैठकमा सहभागी एक नेताका अनुसार, उपस्थित ५२ जनाले नै महामन्त्री ढकालको प्रतिवेदनमाथि धारणा राखेका थिए। ५२ मध्ये ५० जनाले महामन्त्रीको व्यवहार र कार्यशैलीमाथि प्रश्न उठाए। उनीहरू सबैले समग्रमा भनेका थिए, ‘पार्टीभित्रका कुराहरू छलफल नै नगरी मिडियामा ल्याउनु महामन्त्रीको गम्भीर भूल भयो।’

उनीहरूले पार्टी बैठकमा कच्चापन प्रदर्शन भएको टिप्पणी पनि गरेका थिए। बैठकमै सहभागी ती केन्द्रीय सदस्यका अनुसार, दुई जना केन्द्रीय सदस्य भने महामन्त्री ढकालको पक्षमा उभिएका थिए। संसदीय दलकी सचेतकसमेत रहेकी सांसद निशा डाँगी र कोसी प्रदेश संयोजक राजेश तिम्सिनाले महामन्त्रीको पक्षमा बोलेका थिए।

‘दुईजना सदस्यहरू महामन्त्रीको पक्षमा सफ्ट तरिकाले प्रस्तुत हुनुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘उहाँहरू अन्य सदस्यजस्तो आक्रामक देखिनुभएन।’ डाँगीले पार्टीको बारेमा यसरी हल्ला हुनुमा अन्यको पनि दोष रहेको बताएकी थिइन्।

‘पार्टीका सबै मिलेर महामन्त्रीलाई मात्रै दोष लगाउनु उपयुक्त नहोला,’ डाँगीले बैठकमा भनेकी थिइन्, ‘उहाँको यस्तो क्रियाकलाप देखिनुमा हामी सबै दोषी देखिन्छौँ।’