पेच फुस्किएका कुर्सीमा प्रचण्ड टाँस्सिइरहे थप दुर्घटनाको सामना गर्नुपर्ने

देशका दुई प्रमुख ठूला शक्ति नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने सहमति गरेका छन् । ती दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन पनि फिर्ता गरिसकेको छ । यी दुई दल एक ठाउँमा उभिइसकेपछि अब कसै गरी पनि प्रचण्डले संसदमा बहुमत पुर्‍याउने ठाउँ र सम्भावना छैन । तैपनि प्रचण्ड धारा ७६ को उपधारा ३ को पासा फ्याँकेर कांग्रेस सभापति शेरबहादुर देउवा परी पो हाल्छन् कि भनेर दाउ हेर्दै छन् । 

नेपाली राजनीतिमा अस्थिरता र धोकाधडीको अर्को नाम हो प्रचण्ड । राजनीतिको केन्द्रमा आफूलाई राखिरहन माओवादी अध्यक्ष प्रचण्डले अहिलेसम्म अपनाउँदै आएको एउटै सूत्र हो, गोलमाल सिर्जना गरी गोल गर्ने । आफै समस्या सृजना गरी आफै संकटमोचकजस्तो भएर सहानुभूति बटुल्नु उनको खास चरित्र हो ।  

२०४७ सालको संविधानविरूद्ध हतियार उठाएको माओवादीले भूमिगत सशस्त्र आन्दोलनका नाममा करिब १७ हजारको नेपाली नागरिकलाई अनाहकमा मृत्युको मुखमा पुर्‍यायो । २०६३ मा आएर शान्ति प्रक्रियाका नाममा उनले निगाहमा नेपाली जनतालाई शान्ति ल्याइदिएजस्तो गरे । आफै विवाद गर्ने र संकट निम्त्याउने अनि आफै संकटमोचक भएर ताली बजाउन लगाउने अनौठो खेल खेल्न जानेका छन् उनले । तर प्रचण्डले हिजो जनताका छोराछोरीलाई जेजस्ता नारा भट्याउन लगाए पनि उनको आखिरी लक्ष्य आफ्नै सन्तान र पारिवारिक सञ्जालको उन्नति नै रहेको भन्नेमा अब कुनै नेपालीमा पनि दुविधा बाँकी छैन । यदि उनीसँग सन्तानभन्दा परको केही सोच छ भने शारदाप्रसाद अधिकारीदेखि अजेयराज सुमार्गी र ल्हारक्यार लामाजस्ता विवादास्पद पात्रहरुको घेरा मात्र छ ।  

त्यसैले यसपालि एमालेले अनायासै काँध छाडेर भुईँमा बजारिन पुगेका प्रचण्डप्रति कहीँ कतै पनि सहानुभूति देखिँदैन । न नागरिकस्तरमा न त राजनीतिक वृत्तमा । उनले खडा गरेका कथित विश्लेषकहरुले समेत एक शब्द प्रचण्डका लागि खर्च गर्न सकिरहेका छैनन् । आफूले पालैपालो दिएको धोकाको एकमुष्ट जवाफ उनले पाएको भनेर बरु सबैतिर मानिसहरु खुच्चिङ गरिरहेका छन् । उनका जनयुद्धकालीन लडाका जनार्दन शर्मासमेत काखी बजाउँदै हिँडेका छन् ।

आफू अल्पमतमा परिसकेपछि सामान्यतः राजनीतिक नैतिकता प्रदर्शन गर्दै सभ्य राजनीतिमा राजीनामा दिइन्छ । तर प्रचण्डको राजनीतिमा नैतिकता भन्ने कहाँ हुन्छ र ? त्यसैले त माओवादीका पदाधिकारीलाई भेला पारेर भन्न लगाउँदै छन् कि ३० दिन त संविधानले नै सत्तामा बस्ने सुविधा दिएको छ । अल्पमतको प्रधानमन्त्री एक दिन पनि पदमा बस्न पाउँदैन भनेर राजनीतिक नैतिकताको पाठ अब प्रचण्डलाई कसले पढाइदिने ?
 

बरू यसपालि एमालेले उनका प्रति निकै सदाशय दर्शाएर नैतिकता सम्झाउँदै राजीनामाका लागि २४ घण्टाको समय दियो । २४ घण्टा पर्खियो पनि । तर प्रचण्डले पद छाडेनन् । 

अब उनले के बुझ्नुपर्छ भने जति समय त्यस पदमा लिसोजसरी टाँसिइरहन्छन्, उति नै उनका लागि परिस्थिति प्रत्युत्पादक बन्दै जान्छ । उनले यो पनि बुझ्नुपर्छ कि प्रचण्डको राजनीति निकै कमजोर धरातलमा छ । काण्डैकाण्डको जगमा उभिएको छ । मुद्दैमुद्दाको खातमा पुरिएको छ । जताबाट जुन त्यान्द्रो तान्दा पनि प्रचण्डकै जुँघा उखेलिने सम्भावना बढ्दै गएको छ ।

अदालतमा अग्नि सापकोटाको मुद्दा फैसला गर्न ठिक्क पारिएको छ । अख्तियारबाट केही मुद्दाका फाइल अघि बढाउन तम्तयार राखिएको छ । सम्पत्ति शुद्धीकरण विभागमा आफ्ना पार्टीनिकट कर्मचारी लैजाँदैमा सधैँका लागि सुरक्षित भइँदैन । सीआईबीमा श्याम ज्ञवाली लैजाँदैमा उनले आफ्नो व्यावसायिकतामा सम्झौता गर्छन् भन्ने नठाने हुन्छ । संक्रमणकालीन न्यायमा गरिएको छलछाम अन्तर्राष्ट्रियकरण हुँदै छ । 

प्रचण्ड अब सत्ता छाड्न जति विलम्ब गर्दै जान्छन्, उनका एकपछि अर्को काण्ड बाहिरिँदै जानेछन् । ओलीले चाहेमा उनका लागि भोलि यस्तो अवस्था पनि आउन सक्छ कि तावाबाट उम्केर भुङ्ग्रोमा पर्नुपर्नेछ । त्यसकारण अब समय छँदै उनले सुरक्षित अवतरणको बाटो रोज्नुपर्छ । पेच खुस्किएको कुर्सीमा बसेर खेलखण्ड गर्नतिर लागे आफै भुंग्रोमा पर्न बेर लाग्ने छैन ।

यदि यतिखेर कसैले उनलाई पद छाड्नुहुन्न भनेर उकासिरहेको छ भने त्यो सबैभन्दा ठूलो शत्रु ठाने हुन्छ । किनभने बचेखुचेको साख पनि माटोमा मिलाउने र आफ्नै लागि प्रतिकूल अवस्था बनाउँदै जाने रणनीतिका सूत्रधार शकुनि मात्र हुन सक्दछन् । त्यस्ता शकुनिबाट जोगिएर उनले धृतराष्ट्र र दुर्योधनवृत्ति त्याग्नुपर्छ । स्वविवेकले निर्णय लिन सक्ने गरी एकान्तमा गएर एकपटक आफू कुन धरातलमा छु भनेर सोच्नुपर्छ।