प्रचण्डपथको अवशानपछि पतनतिर प्रचण्ड

कुनै बेला माओवादी प्रचण्डपथमा चलेको थियो। ०५७ मा तत्कालिन माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक ‘प्रचण्डपथ’बारे उल्लेख गरेका थिए। 

सामुहिक नेतृत्वको केन्द्रिकृत अभिब्यक्तिका रुपमा विकसित बिचार श्रृङ्खलालाई पार्टी प्रचण्डपथ नामाकरण गर्दछ भनेर माओवादीले अनुमोदन गरेको थियो। त्यसपछि माओवादी सशस्त्र द्वन्द्वमा होमियो। ०६२, ०६३ को जनआन्दोलनपछि पनि माओवादी प्रचण्डपथमा थियो। 

०६४ चैतमा पहिलो संविधानसभा चुनावमा सहभागी हुँदासम्म माओवादीले प्रचण्डपथ अबलम्बन गरिरहेको थियो । माओवादीले प्रचण्डको फोटो भित्ताभित्तामा टाँसेर गणतन्त्र नेपालका पहिलो राष्ट्रपति बनेको थियो। प्रचण्ड भित्ते राष्ट्रपतिमा सीमित भए। तर, ०६५ पुस ३० मा माओवादी र नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको नेकपा एकता केन्द्रसँगको पार्टी एकता अधिवेशनमा अध्यक्ष प्रचण्डले नै लिखित रुपमा तत्कालका लागि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक विचारबाट स्थगित गरी माक्र्सवाद–लेनिनवाद–माओवाद र विचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेर जाने प्रस्ताव गरेका थिए।

प्रचण्डपथ ०६५ मै अन्त्य भइसकेको थियो। तर, प्रचण्ड भने लगातार नेपाली राजनीतिको केन्द्रविन्दूमा रहे। भलै माओवादीको जनमत निरन्तर आरोलो लाग्यो। ०६४ को संविधानसभामा करिब ३१ प्रतिशत मत ल्याएको माओवादी दोस्रो संविधानसभामा १७ प्रतिशतमा झरेको थियो, संविधान जारी भएपछिको पहिलो निर्वाचन ०७४ मा १३ प्रतिशतमा झरेको थियो। ०७९ को निर्वाचनमा भने ११ प्रतिशत मत पाएको थियो।तर, माओवादी अनि प्रचण्ड सधैं सत्ताको केन्द्रमा रहे। पछिल्लो पटक ३२ सिटसहित तेस्रो दल बन्दा पनि माओवादीले देश हाक्यो। प्रचण्ड लगातार साढे एक वर्ष प्रधानमन्त्री बने। उनले यो बीचमा तीनपटक गठबन्धन हेरफेर गरेका छन्।

३२ सिटलाई म्याजिक नम्बर बताउने प्रचण्ड अब प्रतिपक्षमा पुग्ने भएका छन्। कांग्रेस र एमालेले गठबन्धन गर्ने सहमति गरे। एमाले मन्त्रीहरुले राजीनामा दिइसकेका छन्। माओवादी ९ वर्षपछि प्रतिपक्षमा पुगेको हो।०७२ मा संविधान बनाउन भनेर तत्कालीन पहिलो र दोस्रो दल कांग्रेस र एमालेले सरकार बनाएपछि माओवादी प्रतिपक्षमा पुगेको थियो। तर, पछि संविधान जारीपछि कांग्रेसले पूर्वसहमति पालना नगरेपछि एमालेले माओवादीको साथ खोजेको थियो। त्यसपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री स्वीकारेर सरकारमा सहभागी भएपछि माओवादी सत्ताका स्थायी साथी बन्न पुगेको थियो। 

प्रचण्डका पूर्वसहयात्री अनि हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका डा बाबुराम भट्टराईले पनि प्रचण्ड पतनको पराकाष्ठा रहेको बताएका छन्। उनले प्रचण्डलाई लक्षित गरी ट्वीट पनि गरेका छन्, ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’