प्रचण्डलाई ओलीले लेखे समर्थन फिर्ता लिएको पत्र

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा राजनैतिक स्थायित्व प्रदान गर्न सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको बताएका छन् । 

सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा जानकारी गराउन बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा ओलीले यस्तो बताएका हुन् । 

‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ’, ओलीले लेखेको पत्रमा भनिएको छ । 

बुधबार नै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा समेत बुझाइसकेका छन् । एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न पनि आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।

 

kp