प्रधानमन्त्री दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना

 प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना बढेको छ ।

संसदका प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले केपी शर्मा ओलीको नेतृत्वमा नयां सरकार गठन गर्ने निर्णय गरेसंगै राजीनामा दिन दाहाललाई आग्रह गरिसकेका छन् ।तर, दाहालले भने संसद फेस गर्ने चाहना राखेका छन् । १८ महिना प्रधानमन्त्री बनेका प्रधानमन्त्री दाहालले राजीनामा दिन आनाकानी गरे उनलाई पदमुक्त गर्ने तयारी छ । त्यसका लागि सबै खालका विकल्पमा छलफल समेत सुरु भइसकेको स्रोतले जनायो ।

‘दाहाललाई राजीनामा दिन हामिले औपचारिक र अनौपचारिक च्यानबाट भनिसकेका छौं । अटेर गरे उहां पदमुक्त हुने सम्भावना छ । ’ नेपाली कांग्रेसका एक नेताले भने ।प्रधानमन्त्री दाहाललाई राजीनामा दिन गृहमन्त्री रवि लामिछानेमार्फत समेत खवर पुगिसकेको प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छ । आजै एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता गर्ने निर्णयसंगै दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । बिहिवार रास्वपाले समेत समर्थन फिर्ता लिने सम्भावना छ ।

नेपाली कांग्रेस र एमालेले राजीनामा दिन दाहाललाई आग्रह गरेपनि उनले विदेशी शक्तिकेन्द्र र कांग्रेसभित्रै खेल्न खोजेको भन्दै गठबन्धनमा छलफल भएको छ । दाहाललाई बिहिवारसम्म पर्खने नभए राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई तिहाईको हस्ताक्षर बुझाउने तयारी छ ।एमाले अध्यक्ष ओली दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बन्नेमा छन् । दाहालले बहुमत गुमाएको प्रष्ट हुंदा समेत राजीनामा नदिएपछि उनलाई पदमुक्त गर्ने तयारी भएको हो ।

यता दाहाल कुनै पनि बेला पदमुक्त हुन सक्ने सम्भावना भएको भन्दै उनको निजी सचिवालयले खुमलटारस्थित दाहाल निवासको सरसफाइका लागि कर्मचारी खटाइसकेको छ ।