महामन्त्री मुकुल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएको छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले वर्णनलाई जानकारी दिए ।

ती नेताका अनुसार उनी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ नदिएर निस्किएका छन् ।'आज दिनभरि बैठकमा महामन्त्रीको कार्यशैली र व्यवहारप्रति प्रश्न उठ्यो। आज सबैजस्तो वक्ता बोल्दै गर्दाखेरि महामन्त्रीको व्यवहारप्रति नै लक्षित थियो,' उनले भने ।  उपसभापतिहरूले बोलिसकेपछि सभापतिले महामन्त्रीलाई बुधबार उठेका प्रश्नहरूको जवाफ दिन भनेपनि  महामन्त्रीले आफू नबोल्ने बताए ।

'मबोल्दिन भनेर आज उहाँले मिडियामा सार्वजनिक गरेको डकुमेन्ट आफूले नपढी अरूलाई नै पढ्न लगाउन खोज्नुभयो त्यस क्रममा केन्द्रीय सदस्यहरूले उठेको प्रश्नको जवाफ महामन्त्री स्वयंले दिनुपर्छ । मिडियामा बोल्न दिएन भन्ने यहाँ चाहिँ बोल्न दिँदा पनि नदिने भनेर प्रश्नहरु उठाइसकेपछि महामन्त्री म एकछिन निस्किन्छु भनेर निस्किन खोज्दै गर्दाखेरि सभापतिले एकछिनलाई बैठक स्थगित गर्नुभएको छ,' उनले भने ।