‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’

काठमाडौँ, १९ असारः लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अनुगमन गरेको छ ।  संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसारको प्राकृतिक बासस्थान क्षेत्र नास हुन थालेको गुनासा बढेपछि समितिको टोलीले आज त्यस क्षेत्रको अवलोकन भ्रमण गरेको हो । 

लुम्बिनी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक तुलसी चौधरीले कृष्णसारलाई बाह्य जनावरको आक्रमणबाट जोगाउन आवश्यक रहेको बताउनुभयो । कृष्णसारको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको अहम् भूमिका रहने उल्लेख गर्दै उहाँले त्यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “कृष्णसारको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन जरूरी छ । त्यसका साथै यहाँ आउने पर्यटकलाई केही दिन टिकाउनसक्ने पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकमार्फत स्थानीय समुदायको आयआर्जन बढाउने गरी सरकारले पहल गर्नुपर्छ”, उहाँले चौधरीले भन्नुभयो । 

नेपाली कांग्रेस, लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले कृष्णसार संरक्षण क्षेत्रको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बासस्थान क्षेत्रमा घाँसेमैदान व्यवस्थापन र मिचाहा प्रजातिको न्यूनीकरण आवश्यक देखिएकाले कृष्णसारको बासस्थान क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख सूर्य खड्काले त्यहाँको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले स्याल, चितुवालगायत भुस्याहा कुकुरको आक्रमणका कारण कृष्णसार संरक्षणमा चुनौती रहेको बताउनुभयो । हाल खेरापुर क्षेत्रमा दुई सय २४ कृष्णसार रहेका जानकारी दिनुहुँदै उहाँले संरक्षण क्षेत्रको अतिक्रमित बस्ती व्यवस्थापन नहुँदा समस्या भएको जानकारी गराउनुभयो । खड्काले भन्नुभयो, “संरक्षण क्षेत्रभित्र व्यवस्थापन गर्नुपर्ने बासस्थान (गोठ) को सङ्ख्या एक सय ४२ रहेकामा हाल त्यो सङ्ख्या एक सय ९६ पुगेको छ । तिनको व्यवस्थापनका साथै यहाँ पर्या–पर्यटन प्रवर्द्धनका लागि कार्यालयले योजना बनाएको छ । आगामी वर्ष सोही योजनाअनुरुप काम अघि बढाउँछौँ ।” 

अनुगमनमा समितिका सभापति लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, जन्मजय तिमिल्सिना, तुलसीप्रसाद चौधरी, खेमबहादुर सारु, भगवती चौधरी र तुलसीराम शर्मा रहनुभएको थियो ।