कुनै व्यक्तिलाई फौजदारी अभियोग लागेकै कारण उसको पेन्सन रोक्का गर्न मिल्दैन :  सर्वोच्च

 सर्वोच्च अदालतले कुनै व्यक्तिलाई फौजदारी अभियोग लागेकै कारण उसको पेन्सन रोक्का गर्न नमिल्ने फैसला गरेको छ ।

भक्तपुरका हिमालय भक्त प्रधानाङ्गले बैंकिङ कसुरको मुद्दा लागेका कारण आफ्नो पेन्सन रोकिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले कुनै अभियोग लागेका कारण व्यक्तिको पेन्सन रोक्का राख्न नहुने व्याख्या गरेको हो ।

जीवनभर काम गरेवापत् कर्मचारीले पेन्सन पाउने भन्दै सर्वोच्च अदालतले त्यसलाई प्रत्येक व्यक्ति सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक रूपमा हेरिनुपर्ने औँल्याएको हो ।निवृत्तिभरण कोष ऐनले नै अवकाश पाउने कर्मचारीको पेन्सनलाई अनतिक्रम्य र हरण गर्न नमिल्ने व्यवस्था गरेको भन्दै सर्वोच्च अदालतले त्यसलाई अधिकारको रूपमा नै व्याख्या गर्नुपर्ने औँल्याएको हो ।

पेन्सन रोक्दा अवकाशप्राप्त कर्मचारीको जीवनयापन, उपचार खर्च लगायतका आधारभूत काम प्रभावित हुने भन्दै भुक्तानी गर्न आदेश दिएको हो ।