पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जना पक्राउ

 पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वाका ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार, भिष्वाकै ३३ वर्षीय लक्ष्मणकुमार पण्डित प्रजापति र पर्साको जगरनाथपुर गाउँपालिका–५ का धर्मपुरका ४५ वर्षीय महादेव महतो छन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी पर्सा प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।२९ जेठमा पर्साको जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारको नेपाल भारत सीमा दशगजाभन्दा ८० मिटर नेपालतर्फ दुई वटा शव भेटिएका थिए ।

शवको अफिसर, फरेन्सिक डाक्टर, तालिमप्राप्त कुकुर सहितको टोली घटनास्थलमै गएर अनुसन्धान सुरु गरिएको थियो । शव उत्खनन् गरेर निकाल्दा कालो झोला फेला परेको थियो । झोलाभित्र झाँक्रीले पूजा गर्ने सामाग्रीहरु समेत फेला परेका थिए । पूजा सामाग्रीलाई महत्वपूर्ण क्लू मानेर अनुसन्धान अघि बढाएको प्रहरीले शवको पहिचान गर्न सफल भएको थियो ।

मृत फेला परेकाहरू बाराको कलैया उपमहानगरपालिका–५ का ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र उनकै साथी आदर्शकोतवाल गाउँपालिका घर भइ कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर भएको खुलेको थियो ।मृतकको सनाखत भएपछि थप अनुसन्धान अघि बढाउने क्रममा पारिवारिक रिसइबीका कारण हत्या भएको खुलेको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।मृतक रामएकवाल र उनका दाजुबीच अंशसम्बन्धी विवाद चलेको थियो । सोही क्रममा करिब १० महिनाअघि मात्रै रामएकवालका दाजु तथा लक्ष्मणका बाबुको मृत्यु भयो । त्यसको केही समयपछि लक्ष्मणकी साढे २ वर्षकी बहिनीको पनि मृत्यु भयो । घरमा गाईभैंसी समेत मरे ।

अंश विवाद भइरहेको र सोही समयमा बाबु, बहिनी र गाईभैंसीसमेत मरेपछि लक्ष्मणले काकालाई दोष दिएका थिए । लक्ष्मणका काका रामएकवाल मेडिकल सञ्चालन गर्दै आएका थिए । उनीसँग निकट रहेका सुरेश भने झारफुकको काम गर्थे । कसैले बोलाएमा उनीहरू दुवैजना भएर झारफुकदेखि मेडिकल औषधिसमेत दिने गर्थे ।

आफ्नो घरमा भएको क्षतिको दोष काका रामएकवाल र झाँक्री भनिने सुरेशलाई लक्ष्मणले लगाउने गरेका थिए । यही विषयमा विवाद भएपछि काका र झाँक्री दुवैको हत्या गर्ने योजना बनाएर भतिज लक्ष्मणले ८ लाख सुपारी दिएको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।त्यसका लागि चार महिनाअघि मात्रै लक्ष्मणले आफ्ना भिनाजु सन्तोष पण्डितलाई ८ लाख रुपैयाँ दिएका थिए । ८ लाख लिएपछि सन्तोषले नै मान्छे खोजेर रामएकवाल र सुरेशको हत्या गरेको खुलेको पाइएको छ ।

हत्याको योजना बनाइसकेपछि २५ जेठमा दुवै जनालाई झारफुक गर्न भन्दै बाराबाट पर्सा बोलाइएको थियो । कलैयाको भरतचोकस्थित सीसीटीभी फुटेजमा उनीहरू साँझ ६ बजे दुई जना बस चढेर वीरगञ्जतर्फ गएको देखिएको थियो ।गाडीबाट झरेपछि उनीहरूलाई एक जना मानिसले मोटरसाइकलमा चढाएर बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुर्‍याएका थिए । त्यहाँबाट नरहको बाटो हुँदै जगरनाथपुर गाउँपालिकाको बिसुनपुर्वा ओरिया खोला किनारमा पुर्‍याएर हत्या गरको खुलेको एसपी ढुंगेलले बताए ।