कानुन मन्त्रीले न्याय परिषद् बैठकको निर्णयमा हस्ताक्षर गर्न नमान्दा ३५ जना जिल्ला न्यायाधीशको नियुक्ति रोकियाे

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले न्याय परिषद् बैठकको निर्णयमा हस्ताक्षर गर्न नमान्दा ३५ जना जिल्ला न्यायाधीशको नियुक्ति रोकिएको छ। 

मंगलबार बसेको न्याय परिषद्को बैठकले प्रतिस्पर्धाबाट छानिएका ८ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। 

बिनाप्रतिस्पर्धा नियुक्त गरिने न्यायाधीशको सूची पनि न्याय परिषद् सचिवालयले तयार गरेको थियो। निर्णयका लागि मंगलबार बसेको बैठकमा प्रस्तावका रूपमा पेस पनि गरियो। उक्त सूचीमा न्याय, कानुन र सरकारी वकिल समूहका ३५ जना अधिकृतहरूको नाम थियो।

तर, कानुनमन्त्रीले राजनीतिक परिस्थिति बदलिएको भन्दै हस्ताक्षर गर्न नमानेको सोही बैठकमा रहेका एक सदस्यले जानकारी दिए। ‘राजनीतिक परिस्थित फेरियो, अहिले म यसमा हस्ताक्षर गर्न सक्ने अवस्थामा रहिनँ,’ कानुनमन्त्री गिरीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने।प्रधानन्यायाधीशलगायत परिषद्का अन्य सदस्यहरू भने हिजै ३५ जनाको पनि नियुक्ति गर्ने तयारीमा थिए।

हिजो सिफारिस भएका ८ जनाले भने बुधबार शपथ लिएका छन्।