सशस्त्र प्रहरीका असई विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

 जिल्ला अदालत महोत्तरीले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको श्रेस्तेदार नुतन झाले जानकारी दिइन् । उनका अनुसार आगजनी मुद्दामा पाँच हजार धरौटीको आदेश दिइएको छ ।

लामो समयदेखि फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरी आइतबार अदालतमा पेस गरिएको थियो । असई विकको हत्या आरोपमा पूर्वसांसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएको थियो ।

सोमबारदेखि उनको पक्षविपक्षमा थुनछेक बहस भएको थियो । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।एमाले प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए । यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।