पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

काठमाडौँ, १९ असारः सबैको मनपर्ने खाजा मध्ये एक हाे पानीपुरी ! यदि तपाई पनि पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईलाई निराश बनाउन सक्छ । किनभने कर्नाटकबाट एउटा डरलाग्दो खबर बाहिर आएको छ, जसमा त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको पाइएको छ ।

याे विषयमा कर्नाटकमा स्वास्थ्य विभागको सर्वेक्षण गरिएको थियो, जसमा धेरै नमूनाहरूले खाद्य सुरक्षा मापदण्डहरू पूरा गरेनन्। पानीपुरीमा क्यान्सर निम्त्याउने तत्वको प्रयोगबारे अनुसन्धान भइरहेको बताइएको छ, किनभने धेरै यस्ता केमिकलहरू भेटिएका छन् जसले शरीरका अंगहरूलाई ठूलो असर पार्न सक्छ।

स्वास्थ्य विभागले राज्यका धेरै ठाउँबाट पानीपुरीको करिब २५० नमूना सङ्कलन गरेको थियो। अनुसन्धानमा ४० वटा नमूना फेल भएका छन् । रिपोर्टका अनुसार अनुसन्धानका क्रममा यी नमूनाहरूमा क्यान्सर गराउने रसायन भेटिएको थियो । यसमा ब्रिलियन्ट ब्लू, टार्टाराजिन र सनसेट येलो नामहरू समावेश छन्। खानेकुरामा पाइने यी रसायनको नियमित सेवनले अंगलाई पनि हानि पु¥याउने गरेको बताइएको छ ।

स्वास्थ्यमा प्रतिकूल असर पार्ने यस्ता वस्तुको विषयमा गहन रुपमा छानबिन हुने स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले बताए । यसबारे थप विश्लेषण भइरहेको र अनुसन्धान प्रतिवेदन आएपछि स्वास्थ्य विभागले आवश्यक कारबाही गर्ने उनले जनाएका छन् । आमजनताले पनि आफ्नो स्वास्थ्यको ख्याल राख्न, स्वास्थ्यमा प्रतिकूल असर पार्ने यस्ता वस्तुको सेवन नगर्न र सरसफाईलाई विशेष प्राथमिकता दिन स्वास्थ्य मन्त्री गुन्डुरावल आग्रह गरेका छन् ।