सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने सहमति

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने सहमति गरेका छन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनको दुवै दलले छलफल शुरू गरेका हुन्। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच संयुक्त सरकार गठनका विषयमा छलफल भएको हो।

अहिले सुदूरपश्चिममा एमाले सहितको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घ सोडारी मुख्यमन्त्री छन्। केन्द्रमा फेरिएको समीकरणसँगै कांग्रेस र एमालेका नेता प्रदेशमा पनि सरकार परिवर्तन गर्न जुटेका हुन्।छलफलमा सहभागी कांग्रेस सुदूरपश्चिममा सांसद प्रकाशबहादुर देउवाले सरकार परिवर्तनका विषयमा सहमति जुटेको बताए। “सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको छ,” देउवाले भने।

दुई दलका शीर्ष नेताबीच केन्द्रमा भएको सहमति अनुसार नै प्रदेशमा पनि सरकार गठन प्रक्रिया शुरू गर्ने उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस १८ र एमालेका ११ सांसद छन्। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लािग २७ सांसद आवश्यक पर्छ।त्यस्तै, कांग्रेस र एमालेबीच मन्त्रालय फुटाएको विषयमा पनि छलफल भएको छ। पुरानै मन्त्रालय काम गर्न दुवै पार्टी सहमत देखिएका छन्।

मुख्यमन्त्री सोडारीले सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा, युवा तथा खेलकूद र स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालय बनाएका छन्। त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखालाई एक-अर्कामा गाभ्दै तीन मन्त्रालय बनाएका छन्। जसमा वन, वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग, वाणिज्य, पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ।

एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले मन्त्रालय फुटाउँदा विरोध गरेको उल्लेख गर्दै नयाँ सरकार गठन हुँदा हेरविचार हुने बताए। पुरानै मन्त्रालय कायम गर्ने विषयमा थप छलफल हुने उनको भनाइ छ।