'बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ सभापति ज्यू, ?' सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो : महामन्त्री ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री डा मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेश गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै उनले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति गठन गर्न समेत माग गरेका छन् । उनले सभापतिले बोलेका कुराहरुको अभिलेख राखेर जवाफ माग्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्–सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरू । यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔं, ती बोलिहरुको अभिलेखिकरणका लागि । अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलव छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नु होला ।