मओवादी र रास्वपा बाहेकका सबै दल कांग्रेस-एमाले गठबन्धनको पक्षमा

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्यका लागि सात बुँदे सहमति भएको छ । दुई दलबीचको सहमतिमा संघीय संसद्को कार्याकालभर आधा-आधा सरकारको नेतृत्व बाड्ने पनि सहमति भएको छ ।

सहमति अनुरुप पहिले सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै वर्तमान प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । तर, माओवादी र अर्को सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।

बाँकी साना दलहरू भने ओली नेतृत्वको सरमारमा सहभागी हुन सकारात्मक देखिएका छन् । मंगलबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएको बैठकमा अन्य दलहरूले नयाँ बन्ने गठबन्धनलाई सकारात्मक कदम भन्दै साथ दिन तयार रहेको बताएका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले ओलीको नेतृत्वमा बन्ने सरकारलाई सरकारलाई समर्थन गर्ने बताएका छन् । ‘राजनीतिक स्थिरताका लागि यो बीचमा काम हुन सकेन, अब तपाईंहरु मिलेर देशलाई स्थिरतातर्फ लैजानुहोस् भन्यौं’, ठाकुर र यादवले देउवासँग भनेको लोसपा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले भने । उनले ओलीको नेतृत्वमा बन्ने सरकारलाई आफूहरूले साथ दिने बताए ।

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशमा आफ्नो सरकारलाई सघाउन ठूला दुई ल तयार भए केन्द्रको सरकारलाई साथ दिने बताएको छ ।अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एमाले–कांग्रेसलाई साथ दिने बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग अशोक राईले साथ दिने बताएका हुन् ।नागरिक उन्मुक्ति पार्टीले पनि ओली–देउवा समीकरणलाई समर्थन गर्ने पार्टीका संरक्षक रेशम चौधरीले ओलीलाई फोन गरी यसको जानकारी दिएका एमाले नेतारूले बताएका छन् ।

राप्रपाले पनि नयाँ समीकरणलाई साथ दिने पार्टी बैठकबाटै निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘हामी सरकारमा जान्छौं या जाँदैनौं भन्नेबारे म अहिले निर्णय नभई बताउन सक्दिनँ, तर स्थिरताका लागि गर्ने प्रयासमा हाम्रो साथ हुन्छ । नयाँ सरकारलाई समर्थन दिन्छौं ।’माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि नयाँ गठबन्धनसँग सकारात्मक छ । अध्यक्ष नेपाल कांग्रेस सभापति देउवाले बोलाएको बैठकमा सहभागी भएका थिए । देउवाले नेपाललाई दुई मन्त्री लिएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

यो प्रारम्भिक अवस्थाले प्रतिनिधि सभाको तेस्रो दल माओवादी केन्द्र र चौथो दल रास्वपाबाहेक सबै दल अब बन्ने ओली नेतृत्वको सरकारको पक्षमा हुने देखिएको छ ।

 

 

प्रतिक्रिया