ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका बङ्गलादेशी बलर तस्किन अहमदले मागे माफी

बङ्गलादेशी क्रिकेट टोलीका प्रभावशाली बलर तस्किन अहमदले हालै सम्पन्न टी–२० विश्वकपका क्रममा आफूबाट भएको एउटा गम्भीर गल्तीका लागि सार्वजनिक रूपमा माफी मागेका छन् । उनी टी–२० विश्वकपमा बङ्गलादेशी टोलीका उप–कप्तान पनि थिए ।

खासमा जुन २२ तारिखमा भारत र बंगलादेशबिच ‘सुपर–८’ चरणको खेल खेल्ने कार्यक्रम थियो । खेलका लागि बङ्गलादेशी टोलीका सबै सदस्य एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियम पुगिसकेका थिए ।तर, टोलीका तीव्र गतिका बलर तस्किन अहमद भने मैदानमा उपस्थित थिएनन् । होटलबाट खेलाडीसहितको बस स्टेडियमतर्फ प्रस्थान गर्नुअघि पनि प्रशिक्षकसहित अन्य खेलाडीले पटक–पटक तस्किन अहमदलाई फोन गरेका थिए । तर, उनले फोन पनि उठाएका थिएनन् ।

उनी सम्पर्कमा नआएपछि अन्ततः टोलीका प्रमुख प्रशिक्षक चन्डिका हथुरुसिंघाले तस्किन अहमदलाई भारतविरुद्धको महत्त्वपूर्ण खेलमा नखेलाउने निर्णय लिए । प्रशिक्षकले तस्किन अहमदको नाम हटाएर खेलाडीको सूचि पेस गरे ।खेलका क्रममा आफ्ना प्रभावशाली खेलाडीलाई नदेखेपछि बङ्गलादेशका समर्थकहरू समेत असन्तुष्ट बनेका थिए । त्यसपछि खेल सुरु हुनुभन्दा अगाडि तस्किन अहमद स्टेडियम पुगेका थिए । तर, उनलाई प्रशिक्षकले भारतविरुद्ध मैदानमा उतारेनन् ।

त्यो खेलमा बङ्गलादेश ५० रनले पराजित भएको थियो । बङ्गलादेशी टोली ‘सुपर–८’ चरणबाटै बाहिरिएको थियो । त्यो घटनापछि प्रमुख प्रशिक्षक र तस्किन अहमदबिच मतभेद बढेको अनुमान गरिएको थियो । यद्यपि, अफगानिस्तानविरुद्धको खेलमा भने प्रशिक्षकले उनलाई खेलाएका थिए ।

यो सबै विवरण प्रमुख प्रशिक्षकले बङ्गलादेशी क्रिकेट बोर्डलाई पनि उपलब्ध गराएका थिए । महत्त्वपूर्ण खेलमा अनुपस्थित भएको भन्दै उनको आलोचना पनि सुरु भएको थियो । सोही घटनालाई लिएर अहिले तस्किन अहमदले क्रिकेट बोर्ड, प्रशिक्षक र समर्थकसँग माफी मागेका हुन् ।

बङ्गलादेश क्रिकेट बोर्डका एक उच्च अधिकारीका अनुसार, राती ढिलो सुतेको र बिहान निकै ढिलो उठेकाले उनले होटेलबाट स्टेडियम जाने बस छुटाएका थिए । तस्किन अहमदले पनि यस्तै बयान बोर्डमा दिएका छन् । तस्किन अहमद उपस्थित नभएपछि बङ्गलादेशले भारतविरुद्धको खेलमा केवल दुई जना तीव्र गतिका बलरलाई मैदानमा ओरालेको थियो ।