बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित ३ जना सशुकल उद्धार

बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित तीनजनाको सशुकल उद्धार गरिएको छ।

मुस्ताङबाट तीनजना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको थियो।

मङ्गलवार साढे ८ बजेतिर भ्यान फसेपछि चालकसहित तीनजना यात्रुको तत्कालै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी निरिक्षक राजन रायमाझीले बताए।

‘तत्कालै उद्धार गरिएकाले मानवीय क्षती भएन, उक्त स्थान बर्खाको समयमा निकै जोखिम छ’ सूचना अधिकारी रायमाझीले भने।

बुधवार बिहान भ्यानलाई निकालेर सडक सुचारू गरिएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत करिब आधादर्जन स्थानमा पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ।

गतवर्ष समेत बैसरीमै बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जीप गुडिरहेको अवस्थामा पहिरो खसेर एक चालकको ज्यान गएको थियो।

बैसरीको बैकल्पिक बाटो चमेरे–राखु÷पिप्लेबेगखोला सडकखण्डको बैकल्पिक कच्ची मार्ग समेत जोखिमपूर्ण छ। वर्षाको समयमा सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ वटा सानाठूला पहिरा छन्। तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा भएको आयोजनाले जनाएको छ।

गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने बताइएको छ।