आफूले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएको खबर अफबाह मात्रै हाे : डेभिड मिलर

साउथ अफ्रिकी स्टार खेलाडी डेभिड मिलरले आफूले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास नलिएको प्रष्ट पारेका छन्।

उनले आफ्नो इन्स्टा एकाउन्टमा पोस्ट सेयर गर्दै बाहिर आएको खबर अफबाह मात्रै रहेको र आफू अझै साउथ अफ्रिकाका लागि टी–२० इन्टरनेशनलमा खेल्ने बताएका छन्।उनले भनेका छन्, ‘रिपोर्ट्सको विपरित मैले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएको छैन। म आगामी दिनमा पनि प्रोटियान (साउथ अफ्रिकी टीम) का लागि उपलब्ध रहने छु। अहिले मेरो बेस्ट आउन बाँकी छ।’

हालै सम्पन्न आईसिसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा भारतसँग साउथ अफ्रिका ७ रनले पराजित भएको थियो। खेलको अन्तिम समय तिर स्ट्राइकमा रहेको मिलर लङ्गअफमा क्याच आउट भएका थिए।

शनिवार सम्पन्न उक्त खेल पछि मिलरले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएको चर्चा सुरु भएको थियो। जसको खण्डन गर्दै उनले आफूले सन्यास नलिएको प्रष्ट पारेका हुन्।