एमालेकाे आग्रहअनुसार प्रधानमन्त्री प्रचण्डले आज राजिनामा देलान्?

नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।

हिजो बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गरेको थियो। तर एमालेले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई भने फिर्ता बोलाएको छैन। यसैगरी, एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ। तर नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने बरु सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिए संसद्मा विश्वासको मत लिने निर्णय गरेको छ।

प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकार नछाड्ने अडान लिएको छ। प्रचण्डले पदबाट राजीनामा नदिने र रास्वपाले पनि सरकार नछाड्ने अडान लिएसँगै सत्ता हस्तान्तरण लम्बिन सक्ने भएको छ।प्रधानमन्त्री प्रचण्ड भने सरकारमा सहभागी दल बाहिरिएको ३० दिनसम्म विश्वासको मत प्राप्त गर्ने सुविधा संविधानले दिएकाले त्यसैलाई सदुपयोग गर्ने पक्षमा छन्।

सम्भावित अन्य राजनीतिक समीकरण जुटाउने प्रयासस्वरूप माओवादी र रास्वपा सरकारको आयु लम्ब्याउने रणनीतिमा छन्। हाल प्रतिनिधिसभामा माओवादी केन्द्रसँग ३२ र रास्वपासँग २१ सिट छ।