कार्यक्रम 'इट्स माइ शो' विवादमा सञ्चालिका ओसिनसगं प्रेस काउन्सिलले लियाे वयान,विवादित अंश हटाउन निर्देशन

 कार्यक्रम 'इट्स माइ शो' को अतिथि अनि कार्यक्रमका कारण व्यक्तिगत जीवनमा नकारात्मक प्रभाव परेको भन्दै सम्बन्धित कलाकारले आपत्ति जनाउँदा पनि कान्तिपुर टेलिभिजनले अटेर गर्दै विवादित अंश जस्ताको त्यस्तै राखिरहेपछि अन्ततः प्रेस काउन्सिल नेपालले ओसिन सिटौलालाई नै बयानमा बोलायो।

कार्यक्रमको बजर राउन्डमा कार्यक्रम सञ्चालिका ओसिनले सोधेको प्रश्नबारे अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको जवाफले आफ्नो चरित्रहत्याको प्रयास भएको भन्दै अभिनेत्री जसिता गुरुङले सामाजिक सञ्जालमा लेखिन्।

जसिताको प्रतिक्रिया लगत्तै खड्का र शाहले गल्ती महसुस गर्दै सार्वजनिक रूपमा माफी मागेका थिए। तर न त कार्यक्रम उत्पादक कम्पनी कान्तिपुरले यसबारे केही धारणा नै सार्वजनिक गर्यो न त युट्युबमा राखेको भिडियो नै सम्पादन गर्यो।

शनिवार कार्यक्रमको दोस्रो एपिसोडको प्रसारणमा कार्यक्रमबारे धारणा र जसिताप्रति माफी माग्न सकिन्थ्यो। तर ओसिनले माफी मागिनन् नै। उल्टो ऋषि धमलामार्फत आफ्नै बचाउमा उत्रिइन्।त्यसपछि काउन्सिलले ओसिनसँगै कान्तिपुर टेलिभिजनको व्यवस्थापनका अधिकारीलाई बोलाएर ओसिनको बयान लिएर ‘इट्स माइ शो’ को एपिसोडमा रहेको विवादित अंश हटाउन निर्देशन दियो।

काउन्सिलको कार्यालयमा बयान दिन पुगेकी ओसिनले कलाकारको मानमर्दन भएमा माफी माग्ने र प्रेस काउन्सिलको सल्लाह र निर्णय मान्न तयार रहेको बताइन्।